स्वास्थ्य

प्रतिष्ठानलाई संघीय सरकारको अड्को : कोरोना परीक्षण मेशिन दियो, किट दिएन

दाङ- जिल्लास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई संघीय सरकारले कोरोना परीक्षणका लागि मेशिन उपलब्ध गराएपनि किट भने दिन अस्विकार गरेको छ । संघीय सरकारको यहि अड्कोका कारण प्रतिष्ठानले सोमबार किट बिनाको कोरोना परीक्षण मात्रै झार्नु पर्‍यो ।

प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले यो प्रतिष्ठानलाई कोरोना उपचार केन्द्रका रुपमा स्थापित गर्न लामो समयदेखि सकृयता देखाएकी थिईन् । प्रतिष्ठानमै सुरुमा कोरोना आशंका गरिएका व्यक्तिहरुलाई राख्नका लागि आइसोलेसन कक्षको स्थापना गरिएको थियो । सरकारले यो प्रतिष्ठानलाई कोरोना जाँच केन्द्रका लागि सबै सामाग्री उपलब्ध गराउने बताएको पनि थियो ।

तर पछिल्लो समय सरकारको निर्णय फेरिएको छ । सरकारले प्रतिष्ठानलाई कोरोना जाँच गर्ने मेशिन मात्रै उपलब्ध गरायो तर परीक्षण किट दिने निर्णयबाट भने पछि हटेको छ । ‘संघीय सरकारले नै कोरोना परीक्षणका लागि सबै सामाग्री उपलब्ध गराउने भनेको थियो,’ प्रतिष्ठान प्रशासन स्रोतले भन्यो ‘तर संघीय सरकारको बोली एकाएक फेरियो, प्रतिष्ठानलाई मेशिन मात्रै दिईयो तर किट दिईएन ।’ कोरोना परीक्षणका लागि टेकु सरुवा रोग अस्पतालले किट उपलब्ध गराउने गर्दछ । यसका लागि स्वास्थ्य मन्त्रालयले सिफारीस दिनुपर्छ । प्रतिष्ठानले किट उपलब्ध गराईदिनका लागि स्वास्थ्य मन्त्रालयमा सिफारीस माग गरेको थियो ।

तर स्वास्थ्य मन्त्रालयले उक्त सिफारीस दिनै नमानेको प्रतिष्ठान प्रशासनले जनाएको छ । टेकुले भने स्वास्थ्य मन्त्रालयको सिफारीस आए किट उपलब्ध गराउने आश्वासन दिईसकेको प्रतिष्ठानले जनाएको छ । ‘काठमाडौँबाट कर्मचारीहरु किटको मागका लागि सिफारीस माग गर्न स्वास्थ्य मन्त्रालय पुग्नु भएको थियो,’प्रशासन स्रोतले भन्यो ‘तर मन्त्रालयले भने सिफारीस दिने मानेन ।’

प्रशासन स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले उक्त प्रतिष्ठान बन्द भैसकेको भन्ने जानकारी जिल्लाबाट प्राप्त भएको भन्दै सिफारीस दिन अस्विकार गरेको जनाएको छ । ‘प्रतिष्ठान त अहिले बन्द रैछ बन्द अस्पताललाई किन किट चाहियो ? भनेर सिफारीस दिन मानिएन,’ प्रतिष्ठान प्रशासन स्रोतले भन्यो ‘स्वास्थ्य मन्त्रालयले सिफारीसै नदिएपछि मेशिन मात्रै लिएर आउनु पर्‍यो ।’ यता स्वास्थ्य मन्त्रालय योजना महाशाखाका गुणराज लोहनीले भने प्रतिष्ठानले किट पाएको वा नपाएको भन्ने बारेमा आफूलाई केहि थाहा नभएको बताए । ‘प्रतिष्ठानले के पायो के पाएन ? भन्ने विषयमा मलाई केहि थाहा छैन,’उनले नागरिकसंग टेलिफोनमा भने ‘किटको विषयमा टेकुलाई सोधेपछि थाहा होला ।’

स्रोतका अनुसार प्रतिष्ठानले प्रतिष्ठान हाताभित्र रहेको साझा औषधि बिक्री केन्द्रलाइई अप्ठ्यारो पार्ने काम गरेको भन्दै किट सिफारीसमा अड्को थापिएको हो । प्रतिष्ठानले अस्पतालको मुलगेट नजिकै रहेको उक्त साझाको भवनसंग सटाएर स्यानिटाइजर छर्कने मेशिन राखेको थियो । तर साझालाई बन्द गराउने नियत राखेर उक्त मेशिन साझाकै अगाडी राखिएको भन्दै विवाद समेत चलेको थियो । यसर्थ साझालाई अप्ठ्यारो पार्ने काम प्रतिष्ठानले गरेको भन्दै किट रोक्न जिल्लाबाट राजनीतिक पहल थालिएको प्रतिष्ठानको दाबी छ ।

संघीय सरकारले सिफारीस दिन नमान्दा उपलब्ध हुन नसकेको कोरोना परीक्षण किट प्रदेश सरकारको पहलमा उपलब्ध भएको छ । प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले संघीय सरकारबाट किट उपलब्ध नभएको भन्ने जानकारी पाएपछि प्रदेश सरकार मार्फत किट उपलब्ध गराउन पहल थालेका थिए । प्रदेश सरकारकै पहलमा प्रतिष्ठानले मंगलबार नेपालगन्जबाट किट प्राप्त गरेको छ । ‘संघीय सरकारले उपलब्ध नगराएपछि प्रदेश सरकारको सहयोगमा प्रतिष्ठानमा किट ल्याउन प्रतिष्ठान सफल भएको छ,’ प्रतिष्ठान प्रशासन स्रोतले भन्यो ।

कोरोना परीक्षणका लागि सबै सामाग्रीको व्यवस्थापन गरेपछि प्रतिष्ठानले अहिले मेशिन जडानको काम गरिरहेको छ । अबको हप्ता दिनभित्रमा प्रतिष्ठानमा कोरोना परीक्षण सुरु गरिने प्रतिष्ठानले जनाएको छ । सुरुमा जिल्लामा कोरोना संक्रमणको आशंका गरिएका नारिकहरुको स्वाब परीक्षणका लागि काठमाडौँ टेकु अस्पताल पठाउने गरिएको थियो ।

पछिल्लो केहि समय यता बुटवलमै परीक्षण केन्द्रको स्थापना भएपछि यहाँबाट स्वाब परीक्षणका लागि बुटवल पठाईँदै आएको छ । प्रतिष्ठानमा कोरोना परीक्षणको मेशिन जडान भए यहाँबाट बाहिर स्वाब पठाउने समस्या समाधान हुने छ । यसैगरि बिरामीको ढिलो रिपोर्ट आउने अहिलेको समस्या पनि हल हुने छ ।  

   

 

प्रकाशित: ९ वैशाख २०७७ १२:२९ मंगलबार

संघीय_सरकार कोरोना_परीक्षण_मेशिन