स्वास्थ्य

रसुवाको दुई गाउँपालिकाबाट आरडिटी सुरु, ५२ जनाको रिपोर्ट नेगेटिभ

रसुवा- रसुवाको चार वटा गाउँपालिकामा द्रुत विधिबाट परीक्षण गरिएका सबै व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सोमबार जिल्लाको नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाबाट पनि आरडिटी सेवा सुरु भएको छ । सोमबार आमाछोदिङ्मो गाउँपालिकामा १४ र नौकुण्ड गाउँपालिाकामा ८ जनाको परीक्षण गरिएको छ । जसमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न देशबाट फर्किएका व्यक्तिको गाउँपालिकामै गर्ने लक्ष्य अनुसार थप दुईवटा गाउँपालिकाबाट पनि सेवा सुरु गरिएको हो ।

अघिल्लो हप्तादेखि आरडिटी सुरु गरेका रसुवा अस्पताल र जीवजीवे ग्रामीण अस्पतालले पनि सेवालाई नियमित गरिरहेका छन् । कोभिड-१९ सूचना केन्द्र रसुवाका अनुसार जिल्लामा हालसम्म ५२ जनाको परीक्षण गरिएकोमा सबै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

रसुवामा विदेशबाट फर्किएका व्यक्तिको परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइएको छ । जीवजीवे ग्रामीण अस्पतालमा २१ जना, रसुवा अस्पतालमा ९, पारच्याङ स्वास्थ्य चौकीमा ८ र थाम्बुचेत स्वास्थ्य चौकीमा १४ जनाको परीक्षण भएको केन्द्रले जनाएको छ ।

प्रकाशित: ९ वैशाख २०७७ ०४:११ मंगलबार

आरडिटी रिपोर्ट कोरोना कोभिड-१९