स्वास्थ्य

डोल्पामा कोरोना द्रुत परीक्षण सुरु, पाँच जनाको रिपोर्ट नेगेटिभ

क्वारेन्टनइनमा रहेकाहरुलाई कोरोनाको द्रुत परीक्षण गरिदै जिल्ला अस्पताल डोल्पामा ।

डोल्पा- हिमाली जिल्ला डोल्पामा कोरोना भाइरस (कोभिड–१९) द्रुत परीक्षण सुरु भएको छ । गत बिहीबार जिल्लामा पुगेको किटबाट पहिलो पटक पाँच जनाको परीक्षण गरिएको छ ।

सेल्फ क्वारेन्टाइनमा रहेका पाँच जनालाई पहिलो पटक कोरोना भाइरस द्रुत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।

डोल्पामा १४० थान किट आएपछि परीक्षण कार्य सुरु भएको हो । सेल्फ क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गरिएपनि स्वास्थ्य परीक्षणको लागि खासै कोही नआउने गरेको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ । भारत तथा अन्य मुलुकबाट आएकालाई पहिलो प्राथकितामा राखेको भएपनि भारतबाट डोल्पामा आएकाहरुको एकिन तथ्याङ्क कसैले नदिएकोले समस्या भएको डाक्टर रावलले बताए ।

जिल्लाको जगदुल्ला गाउँपालिकाबाट द्रुत परीक्षण सुरु गर्ने भनेर डाक्टर मछिन्द्र बडुवालको नेतृत्वमा ४ जनाको टोली आइतबार नै सम्बन्धित स्थानीय तहमा गएकोे छ । मोवाइल घुम्ति टोलीले जगदुल्ला गाउँपालिकामा पुगेर भारतबाट आएका ६ जना र अन्य शंकास्पद ब्यक्तिहरुलाई परीक्षण गरेर फर्किने प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।

कोरोना आरडिटी परीक्षण किट १४० थान मलेरीयाको किट १२५ थान र रगत निकाल्न प्रयोग गरिने ल्यान सेट गत बिहीबार मात्र जिल्लामा पुगेको थियो

 

प्रकाशित: ८ वैशाख २०७७ ०५:५७ सोमबार

कोभिड–१९ कोरोना द्रुत_परीक्षण