स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले भन्यो : डा. पुनलाई स्पष्टिकरण सोधेका छैनौं

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टिकरण नसोधिएको बताएको छ।

मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रघुराम विष्टले डा. पुनलाई स्पष्टिकरण नसोधिएको बताए। मन्त्रालयले डा. पुनलाई पठाइको पत्रमा स्पष्टिकरण सोधिएको भनि प्रकाशन/प्रशारण भएका समाचार सत्य नभएको उनको भनाई छ। ’अस्पतालको काममा बाधा नपर्नेगरी कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउन उपस्थित हुन’ भनेर पत्राचार गरिएको सहसचिव विष्टले बताए।

संञ्चार माध्यममा सत्यतथ्य नबुझि समाचार प्रकाशित गरिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण भएको सहसचिव विष्टले बताए। सहसचिव विष्टले विना प्रमाण समाचार बनाउने र मन्त्रीको चरित्र हत्या गर्ने काम संञ्चार माध्यमहरुबाट भएको आरोप लगाए। उनले भने, ‘प्रमुख मेडिकल अधिकृत पुनले समेत आफुले पत्र नपाएको भनि मिडियालाई बताएको सन्दर्भमा मिडियाहरुले वहाँको भनाइनै खण्डन हुने गरी मन्त्रालयले पठाएको पत्रमा उहाँलाई स्पस्टिकरण सोधेको भनी कपोकल्पित समाचार प्रसारण, प्रकाशन गर्नु खेदपूर्ण छ।’

मनगणन्ते हेडलाइनका समाचार बनाएर मन्त्रीको चरित्रहत्या गर्ने र कोभिड—१९ रोकथाम, नियन्त्रण उपचारमा खटिने टिमको ध्यान भंग गरी जनतामा नैरस्यता छर्ने काम भएको सहसचिव विष्टको भनाई छ।

प्रकाशित: ७ वैशाख २०७७ ११:५० आइतबार

कोरोना_भाइरस स्पष्टिकरण शेरबहादुर_पुन