स्वास्थ्य

प्रधानमन्त्रीको भाइरल भिडियोका कुरा कति सत्य ?

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबारे बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्रधानमन्त्री ओलीले गत साता मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा कोराना भाइरसको प्रकृति, यसको उपचार र सर्ने तरिकाकाबारे ‘वैज्ञानिक व्याख्या’ गरिरहेको देख्न सकिन्छ। 

उनले मुख्य मन्त्रीहरुलाई कोरोनाबारेमा दिन खोजेको शिक्षा भने वैज्ञानिक ढंगले पुष्टि हुँदैनन्। बरु उनको भिडियो सामाजिक सञ्जालमा रमाइलो ठट्टाको विषय बनिरहेको छ।  उनको सबैभन्दा विवादित भनाइ कोरोना भाइरसलाई निर्जीव तत्व भन्नु रहेको छ।

कोरोना भाइरस निर्जीव तत्व भनेका छन्। बोसोले निर्जीव तत्वलाई जीवित तत्वका रुपमा सक्रिय बनाइदिने बताएका छन्। उनले तातोपानीको बाफ लिनु र तातोपानी खानु यसबाट बच्ने प्रमुख विधि भएको बताएका छन्। तातोपानीले हात धुँदा बोसो पग्लने र भाइरस निर्जीव तत्व भएकाले निष्कृय हुने उनको तर्क छ।

विश्वभरिका स्वास्थ्यकर्मी तथा अध्ययताहरूले कोरोनासँग मिल्दोजुल्दो रोगको औषधिले यसलाई किन निर्मुल पार्न सकिरहेको छैन भनेर पत्ता लगाउने कोसिस गरिरहेका छन्। यही बेला प्रधानमन्त्री ओलीले भने यसबाट बच्न सहज उपाय बताइरहेका छन्। उनले भाइरस निर्जीव तत्व भएकाले यसलाई औषधिको प्रयोगबाट मार्न नसकिने तर्क गरेका छन्। उनले अगाडि भनेका छन्, ‘जसको जीवन नै छैन त्यसलाई कसरी मार्ने ? यो मर्दैन।’

उनले तातोपानीको सेवन, तातो बाफ लिने र तातोपानीले नै हात खुट्टा तथा मुख धुँदा कोरोना भाइरसलाई प्रभावकारी ढंगले पराजित गर्न सकिने बताएका छन्। अझ उनले आइसक्रिम नखान समेत सुझाएका छन्। वासिङटन पोष्टमा प्रकाशित रिपोर्ट तथा रोयटर्सले गरेको तथ्य परीक्षणले भने प्रधानमन्त्रीको दाबीलाई गलत सावित गर्छ। विश्व स्वास्थ्य संगठनले पनि कोरोनाबाट बच्न तातो बाफ लिने सुझाव दिँदैन। हार्वड विश्वविद्यायका अध्ययताहरूले गरेको अध्ययनले पनि तातोपानी खाँदा वा तातोपानीले हातमुख धुँदा कोरोनाबाट मुक्त हुन नसकिने निष्कर्ष निकालेका छन्। 

प्रधानमन्त्री ओलीले कोरोनाबाट बच्न मास्कमात्र लगाएर पर्याप्त नहुने दाबी गरेका छन्। उनले मास्कसँगै चस्मा पनि लगाउन सुझाव दिएका छन्। उनले कोरोना सबैभन्दा छिटो मुखबाट र त्यसपछि आँखाबाट सर्ने दाबी गरेका छन्। विज्ञहरूले भने कोरोना एउटा व्यक्तिबाट अर्को व्यक्तिमा आँखाबाट सर्छ वा सर्दैन भन्ने निश्चित भइनसकेको बताउने गरेका छन्।  तथापि एउटा नयाँ रिपोर्टमा कोभिड १९ तथा सार्स लगायतका भाइरस आँखाबाट पनि सर्न सक्ने दाबी गरिए पनि नाकबाट भन्दा आँखाबाट छिटो सर्छ भन्ने प्रधानमन्त्रीको भनाइ भने अहिलेसम्म पुष्टि भएको छैन।

 

 

 

प्रकाशित: ७ वैशाख २०७७ १०:३२ आइतबार

कोरोना_भाइरस कोभिड_१९ प्रधानमन्त्री