स्वास्थ्य

भारतबाट भित्रिएकाहरु र्‍यापिड परीक्षण गर्न आतुर

जुम्ला- जिल्ला जनस्वस्थ्य सेवा कार्यालय जुम्लाको टोली गाउँमा पुग्दा भारतबाट भित्रिएकाहरु र्‍यापिड परीक्षण गर्न आतुर देखिन्थे । उनीहरु स्वास्थ्यकर्मीको टोली पुग्नु भन्दा अगावै भेला भइसकेका हुन्थे । उनीहरुमा एउटै मात्र चाहाना हुन्थ्यो, ‘ छिटो कतिबेला र्‍यापिड परीक्षण गरौँला र रिपोर्ट हेरौँला । अनि ढुक्कका साथ घर फर्कौला । ’

गाउँमा अहिले भारतबाट भित्रिएकाहरुलाई हेर्ने दृष्टिकोेण निकै फरक छ । उनीहरुलाइ गाउँमा बस्न असजिलो भइरहेको छ, एक जना भारतबाट भित्रिएका युवाले भने,‘ र्‍यापिड परीक्षणको रिपोर्ट आएपछि ढुक्कसंग गाउँमा बस्न पाइन्थ्यो की ? भनेर पनि परीक्षणको पर्खाइमा बसेका थियौँ । जनस्वास्थ्य कार्यालयको टोली पुग्दा खुसी भयौँ ।’

पछिल्लो समयमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाको टोली गाउँगाउँमा पुगेर र्‍यापिड परीक्षण गरिरहेको छ । हालसम्म १ सय २९ जनाको र्‍यापिड परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य प्रमुख सापकोटा बताउँछन् । चैत १ गतेदेखि भारतबाट आएका र १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका लागि पहिलो चरणमा र्‍यापिड परीक्षण गरिएको थियो ।

जनस्वास्थ्य प्रमुख सापकोटा भन्छन्,‘ भारबाट आएकाहरु र्‍यापिड परीक्षण गर्न इच्छुक छन् । उनीहरुका परिवार पनि संभावित जोखिमबाट बच्न चाहान्छन् ।’ जनस्वास्थ्य कार्यालयका अनुसार तातोपानीमा ३७ जना, तिला १५ जना, हिमा १८ सिँजामा ४, कनकासुन्दरीमा २५ जना,गुठिचौर १८ जना र चन्दननाथ नगरपालिकामा ९ जनाको र्‍यापिड परीक्षण गरिएको थियो ।

गाउँमै पुगेर र्‍यापिड परीक्षण गर्न पाउँदा स्थानीय उत्साहित छन् । हरेक बाहिरबाट भित्रिएका व्यक्तिले अनिवार्य परीक्षण गर्नुपर्ने मान्यता गाउँमा स्थापित भइसकेको छ । अर्को चरणमा क्वारेन्टाइन पूरा गरेका र शंकास्पद व्यक्तिको र्‍यापिड परीक्षण गर्ने तयारी भइरहेको छ ।

थुनुवा र प्रहरीको रिपोर्ट नेगेटिभ
जिल्ला प्रहरी कार्यालय जुम्लाले हिरासतमा रहेका थुनुवा र बाहिर डियूटिमा खटिने प्रहरीको र्‍यापिड परीक्षण गरेको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको मेडिकल टोलीले र्‍यापिड परीक्षण गरेको थियो । परीक्षणका क्रममा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रहरीको हिरासतमा रहेका तीन जना थुनुवा र चार जना सिविल पोशाकमा बाहिर डियूटिमा खटिने प्रहरीको ¥यापिड परीक्षण गरिएको हो । जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले भने,‘ सबैको रिपोर्ट नगेटिभ आयो ।’ जनस्वास्थ्य प्रमुख सापकोटाका अनुसार क्वारेन्टाइनमा बसेका हिमा गाउँपालिकाका दुई जना र तिला गाउँपालिकाका दुई जना स्वास्थ्यकर्मीको र्‍यापिड परीक्षण गरिएको थियो । उनीहरुको पनि रिपोर्ट नेगेटिभ आएको उनले बताए । उनले भने,‘अहिले सम्मको र्‍यापिड परीक्षणमा सबैको नेगेटिभ नै देखियो । तैपनि उच्च सतर्कताको आवश्यकता देखिन्छ ।’

जुम्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामी बाहिर डियूटिमा खटिने प्रहरीको अवस्था बुझ्नको लागि र्‍यापिड परीक्षण गरिएको बताउँछन् । उनले भने,‘ सबै जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । यसले सबै प्रहरी सुरक्षित नै छौँ भन्ने देखाउँदछ ।’ अहिले कोरोना भाइरससँग लडाइको अग्रपंतीमा स्वास्थ्यकर्मी र प्रहरी नै छन् । उनले भने,‘ नियमित रुपमा उनीहरुको बेला बेलामा कोरोना परीक्षण गर्न आवश्यक छ । ’

यसअघि रारालिहि प्रहरी चौकीका हवलदारको र्‍यापिड परीक्षण गरिएको थियो । प्रहरी चौकी इन्चार्ज सई कृष्णबहादुर खड्काका अनुसार प्रहरी पनि सधैँ भरी खटिने भएकोले पटक पटक र्‍यापिड परीक्षणको खाँचो छ ।’ राराप्रहरी चौकीका हवलदारको रिपोर्ट पनि नेगेटिभ नै थियो ।

 

 

प्रकाशित: ७ वैशाख २०७७ ०९:१३ आइतबार

र्‍यापिड_परीक्षण कोरोना कोभिड_१९