स्वास्थ्य

भ्रष्टाचार गरेको हैन, सरुवा रोगबाट कसरी बच्ने भन्नेबारे बोलेको छु,लेखेको छु : डा. पुन

काठमाडौं- टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा सरुवा रोग विशेषज्ञका रुपमा कार्यरतडा. शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरण पत्र पठाएको छ।  स्पष्टीकरण पत्रमा के लेखिएको छ भन्ने भने हेर्न नपाएको डा. पुनले बताए।  ‘म शुक्रबार अस्पतालबाट घर हिँडिसकेपछि मात्र अस्पताल प्रशासनले फोन गरेर मन्त्रालयबाट स्पष्टीकरण पत्र आएको जानकारी गरायो।  शनिबार अस्पताल प्रशासन बन्द भएकाले पत्र पढ्न पाएको छैन’, उनले भने।  

यसअघि नै मन्त्रालय प्रशासनले अस्पतालका निर्देशक डा.सागरराज भण्डारीलाई फोन गरी डा. पुनलाई मन्त्रालयमा पठाइदिन भनेको थियो।  डा.पुनले आगामी बिहीबार मन्त्रालय जाने सोच बनाएको बताउँदै शनिबार साँझ नागरिकसँग भने, ‘म बिहीबार मन्त्रालय पुग्छु भनेको थिएँ, त्यसअघि नै पत्र आइसकेछ। ’डा.पुनका अनुसार यसअघि नै स्वास्थ्य सेवा विभाग तथा अन्य संयन्त्रले बोलाएर प्रवक्ता हुँदाहुँदै किन बोलेको भनी उनीसँग स्पष्टीकरण सोधेका थिए।  मन्त्रालयको स्पष्टीकरण पत्र पनि मिडियामा बोलेको र लेखेको विषयबारे नै हुनुपर्ने अनुमान डा. पुनको छ।  ‘मैले भ्रष्टाचार गरेको हैन, सरुवा रोगबाट कसरी बच्ने भन्नेबारेमा बोलेको छु,लेखेको छु’, उनले भने।

जापानबाट सरुवा रोगमा पिएचडी गरेर आएका डा.पुन १८ वर्षदेखि टेकु अस्पतालको अनुसन्धान विभागमा कार्यरत छन्।  आफ्नो विषय अनुुसन्धान र क्लिनिकल चिकित्सक दुवै भएकाले अस्पतालको नीतिका विषयमा नबोलेको तर रोगका बारेमा बोल्ने गरेको बताए।  ‘न बिराउनु  न डराउनु’, उनले भने।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयबाट पत्र पठाएको जानकारी भएको तर के विषयमा भन्ने बेहोरा जानकारी नभएको बताए।  मन्त्रालयको कर्मचारी प्रशासन शाखाका प्रमुख परशुराम बिष्टले मन्त्रालयमा उपस्थित हुन भनी पत्र पठाएको बताए।  ‘उपस्थित हुनका लागि पत्र पठाएको हो,अरु केही छैन’, उनले भने।

डा.पुन सरुवा रोगबारे सर्वसाधारणलाई सचेत बनाउन विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा पनि लेखिरहन्छन्।  उनले केही दिनअघि कोरोना संक्रमणबारे यस्तो ट्विट गरेका थिए, ‘र्‍यापिड टेस्टको नतिजा पिसिआरसित नभिडाएर तुरुन्त सार्वजनिक गर्दा मानिसमा त्रास बढेको देखिन्छ।  र्‍यापिड टेस्ट किटको पत्ता लगाउने र सही देखाउने क्षमता पिसिआरको भन्दा धेरै कम हुन्छ।  पिसिआर परीक्षणपछि मात्र संक्रमितको संख्या सार्वजनिक गर्नेकि?’सरकारले तीन साताअघि ओम्नी समूहमार्फत चीनसँग खरिद गरेको किटको विषयमा बोलेकाले मन्त्रालयले डा. पुनलाई स्पष्टीकरण सोधेको भन्ने समाचार पनि आएका छन्।  डा.पुनले भने ओम्नीबारे आफूलाई केही जानकारी नभएको र कतै यसबारे टिप्पणी पनि नगरेको बताए।  

जापानमा सरुवा रोग विषयमा पिएचडी अध्ययन गरेर फर्केपछि डा. पुनले नयाँ तथा पुराना, हरेक सरुवा रोगका बारेमा सञ्चारमाध्यममार्फत जनचेतना फैलाउँदै आएका छन्।  स्रोतका अनुसार उनले मिडियासँग बोलेको र लेखेकोमा उनी कार्यरत अस्पतालकै केही चिकित्सकसमेत बेखुसी थिए।

प्रकाशित: ७ वैशाख २०७७ ०३:१३ आइतबार

कोरोना_भाइरस कोभिड_१९ स्वास्थ्य_मन्त्रालय शेरबहादु_पुन