स्वास्थ्य

जमातीको सम्पर्कमा आएका सप्तरीका एक जनाको आरडीटी पोजेटिभ

लहान-सप्तरीको सप्तकोसी नगरपालिका -१ फत्तेपुरका एकजना ७५ वर्षिय जेष्ठ नागरिकको (पुरुष) र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ आएको छ।

आरडीटी पोजेटिभ पुरुष उनको श्रीमती र छोरालाई शनिबार साँझ गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवकाअनुसार ती पुरुषको श्रीमतीको आरडीटी नेगेटिभ आएपनी पीसीआर परीक्षणका लागि आइसोलेसनमा राखिएको छ। उनको छोराको आरडीटी परीक्षण आइतबार गरिने यादवले बताए। पीसीआर परीक्षणको रिपोर्ट आएपछि सबै निश्चित हुने यादवले बताए।

 आइतवार विहानै स्वाब संकलन गरी पीसीआर परीक्षणकागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डाक्टर चुमनलाल दासले बताए। सप्त्कोसी नगरपालिका - १ र ४ को मस्जिद आसपास बस्तीका ७४ जनाको आरडीटी परीक्षण गरिएको छ। जसमा ७३ जनाको आरडीटी रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य प्रमुख यादवले बताए। उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा बसेका ११ भारतीय र एक नेपाली जमातीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका र उनिहरू बसेका स्थानमा आरडीटी परीक्षण सुरू गरिएको छ।

जमातीहरूको यात्रा विवरण सप्तकोसी नगरपालिकाको उक्त क्षेत्र समेत रहेकोले मस्जिद वरपर आरडीटी परीक्षण गरिएको यादवले बताए। सप्तरीमा यसअघि पनि दुई जना जमातीको आरडीटी रिपोर्ट पोजेटिभ आएको र पीसीआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो।

प्रकाशित: ६ वैशाख २०७७ १५:४७ शनिबार

कोरोना_भाइरस कोभिड_१९ र्‍यापिड_टेष्ट