स्वास्थ्य

कोरोना अस्पतालको तयारी सुस्त, पीसीआर आयो चलाउने उपकरण आएन

लहान – भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएसंग प्रदेश २  उच्च जोखिममा छ। कोरोना संक्रमणको जोखिमबाट बच्न प्रदेश सरकारले नियन्त्रणत्मकसंग उपचारात्मक गतिविधि पनि बढाएको छ। कोरोना संक्रमितको उपचारका लागि सुस्त गतिमा  अस्पताल तयार पारिदै छ। 

प्रदेशको ६ वटा सरकारी अस्पताललाई स्तरोन्नति गरि  ५०–५० शैयाका कोभिड–१९ उपचारयुक्त अस्पताल बनाउन लागेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताए। महोत्तरीको जलेश्वर अस्पताल, पर्साको पोखरिया, सप्तरीको भारदह, धनुषाको डुमरिया, बाराको कलैया अस्पताल र जनकपुरको प्रादेशिक अस्पतालकै परिसरमा रहेको नर्सिङ कलेजमा कोभिड–१९ उपचार अस्पताल बनाइँदै छ।

महोत्तरीको जलेश्वर अस्पताल, पोखरिया अस्पताल र भारदह अस्पताललाई १५ शैयाबाट ५० शैयामा स्तरोन्नति गरिएको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए। ५० शैयाको कलैया अस्पतालमा भेन्टिलेटर र आइसीयूसहितका पूर्वाधार थपेर कोभिड–१९ उपचार अस्पताल बनाइँदैछ। प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल विरगंजमा मात्र सीमित कोरोना संक्रमितको उपचारको दायरा सुस्त गतिमा बढ्दैछ। कोरोनाका बिरामी बढेपछि यी दुई अस्पतालमा सीमित उपचार कक्षले थाम्न नसकिने निष्कर्षसहित प्रदेश सरकारले अस्पतालको दायरा बढाउन लागेको सरकारको भनाई छ।

यत्ता, संघीय सरकारले प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगंज र जगेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई कोभिड १९ उपचार अस्पताल तोकेको छ। यी तीन अस्पतालमध्ये नारायणी र सगरमाथा अस्पताल संघ सरकारको  मातहत भएपनि  प्रदेश सरकारले आफ्नै मातहतमा कोभिड–१९ उपचार अस्पतालको स्वरुप दिन लागेको हो। 

प्रदेश सरकारले कोभिड–१९ उपचार अस्पताल बनाउन जलेश्वर अस्पताललाई ८ करोड, कलैया अस्पताललाई ७ करोड, जिल्ला अस्पताल सिरहालाई ८ करोड, प्रादेशिक अस्पताल जनकपुरलाई २२ करोड रुपैयाँ उपलब्ध गराएको जनाएको छ। यो बजेट समाजिक विकास मन्त्रालय माफर्त विनियोजन गरिएको छ।सरकारले यी अस्पतालहरुको स्तरोन्नति गरेर बजेट विनियोजन गरिदिएपनि उपचारका लागि आवश्यक उपकरण तथा सामग्री खरिद सम्भव हुन सकिरहेको छैन। सामान खरिदको सबै प्रक्रिया मिलाए पनि लकडाउनका कारण समयमै स्वास्थ्य उपकरण ल्याउन सकिरहेको छैन’ समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे भन्छन्,‘उपकरण तथा सामग्री ल्याउन हामीले भरपूर प्रयास गरिरहेका छौं।’ 

चैत २१ गतेदेखि जनकपुरको प्रादेशिक अस्पतालमा पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण थालिए पनि क्षमता कम हुँदा संकलन भएका स्वाब काठमाडौं, हेटौडा र धरान पठाउनुपर्ने बाध्यता रहेको छ। शुक्रबारसम्म प्रदेशका विभिन्न जिल्लामा यस प्रयोगशालाबाट तीन सय ९ वटा स्वाब संकलन भएकामा ५५ वटा स्वाबको मात्र परीक्षण भएको छ। २७ वटा स्वाब यसै प्रयोगशलामा परीक्षणको क्रममा छ। बाँकी दुई सय २७ वटा स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका पठाइएकोमा २ सय २६ वटा रिपोर्ट नेगेटिभ र एक जनाको रिपोर्ट कोभिड–१९ पोजेटिभ आएको छ  
प्रयोगशालाका प्रमुख रामवीनय साहका अनुसार हामीसँग भएको पीसीआर मेसिनबाट दैनिक पाँच देखि छ वटा परीक्षण मात्र भैरहेको छ। ‘जनशक्तिअभावका कारण एक सिफ्ट मात्र काम गर्न सकिरहेका छौं’ उनले भने,‘बुद्यबार संकलन गरिएको ३२ वटा स्वाबमध्ये बिहिबार पाँच वटा मात्र परीक्षण गर्न सक्यौं।’ 

प्रदेशभरीका आठवटै जिल्ला संकलन शुक्रबारसम्म ५ सय ४५ स्वाब (नमुना) संकलन भएकोमा ४ सय ६३ वटा  नमुना काठमाडौं, हेटौडा, धरान र ८२ नमुना प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको छ। 
समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेकाअनुसार शुक्रबारसम्म संकलन गरिएको ५ सय ४५ नमुनामध्ये ५ सय ८ नमुना परीक्षण भएको छ। जसमध्ये पाँच सय ४ नमुनाको परिपोर्ट नेगेटिभ आएको छ भनेर चार वटा नमुना पोजेटिभ आएको छ। कोभिड–१९ पोजेटिभ आएका चारै जनाको नारायणी अस्पताल विरगंजमा उपचार भैरहेको छ। 

पीसीआर आयो चलाउने उपकरण आएन

मुख्यमन्त्री लालबाबु राउतले नयाँ वर्षमा भिडियो सन्देश जारी गर्दै  भोलीदेखि नारायणी अस्पताल विरगंजमा ठूलो क्षमताको पीसीआर मेसिन सञ्चालनमा आउने बताएका थिए। यस प्रदेशमा नमुना परीक्षणको दायरा बढाउन ठूलो क्षमताको पीसीआर मेसिन सञ्चालनमा ल्याउन लागिएको उनले बताएका थिए। नारायणी अस्पताल विरगञ्जमा पीसीआर मेसिन त आयो तर सञ्चालनमा ल्याउन आवश्यक उपकरण नआउँदा मेसिन थन्किएको छ।

अस्पतालका प्रमुख डाक्टर मदनकुमार उपाध्यायले नागरिकसंग भने, भात पकाउन जसरी चामल मात्र भएर पुग्दैन त्यसैगरी पीसीआर मात्र भएर परीक्षण सम्भव हुँदैन।’  पीसीआर मेसिन आउँदैमा कोभिड–१९ परीक्षण सञ्चालन गर्न सकिदैन उनी भन्छन्,‘आवश्यक उपकरण तथा समग्री जुटाउन चुनौती छ।’ ‘बायो सेफ्टी क्‍याबिनेट, पीसीआर हुडलगायतका उपकरणविना पीसीआर मेसिन परीक्षणका लागि तयार हुदैन। यी उपकरण बाहिरबाटै मगाउनुपर्ने हुन्छ, हामी लागिपरेका छौं,’ उनले भने।

 

प्रकाशित: ६ वैशाख २०७७ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App