स्वास्थ्य

संकटमा मेडिकल अधिकृतविहीन प्राथमिक स्वास्थ्य केन्द्र

जुम्ला- जुम्लाको हिमा गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतु दुई वर्षदेखि मेडिकल अधिकृतविहीन छ । मेडिकल अधिकृत नहुँदा चिकित्सकीय सेवा ठप्प छन् । एचएको भरमा प्राथमिक स्वास्थ्य केन्द्र चलिरहेको छ । दरबन्दी अनुसारको जनशक्ति नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा दिन नसकिएको हिमा गाउँपालिका स्वास्थ्य संयोजक रतनबहादुर रावत बताउँछन् ।

उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत रत्नबीर सुनार अध्ययन विदामा छन् । उनको साटो सरकारले अर्को मेडिकल अधिकृत खटाउन सकेको छैन । कोरोना संक्रमण फैलन नदिनका लागि चौतर्फी सतर्कता अपनाइरहेको बेला यहाँ मेडिकल अधिकृत नहुँदा समस्या छ । बिरामीको सामान्य चेकजाँच हुन्छ । जटिल प्रकृतिका बिरामीलाई घर फर्काउन बाध्य छौँ, स्वास्थ्य संयोजक रावत भन्छन्,‘सरकार समस्या बुझ्दैन । आक्रोशित भएर स्वास्थ्य केन्द्रविरुद्ध बोल्दछन् ।’

यहाँ ल्याव सेवा छ । एक्सरे पनि हुन्छ । तर रिर्पोट हेर्ने मेडिकल अधिकृत छैनन्, उनले भने,‘नाम मात्रको प्राथमिक स्वास्थ्य केन्द्र छ । न प्रभावकारी सेवा छ । नत संरचना अनुसार दरबन्दी नै । यहाँ आकस्मिक २ र डेलिभरी १ गरेर तीन बेड छन् । प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा मेडिकल अधिकृत १ जना, पब्लिक हेल्थ विज्ञ १ जना, एचए १ जना, सिअहेब १ जना ,अहेब १ जना,सिअनमि १ जना, स्टाफ नर्स १ जना, अनमी २ जना र ल्याव टेक्नेसिएन १ जनाको दरबन्दी छ । तर मेडिकल नहुँदा विशेषज्ञ सेवा प्रदान गर्न नसकिएको स्वास्थ्य संयोजक रावत बताउँछन् ।

जहाँतही कोरोना भाइरसको संक्रमण हुने भन्दै त्रास छ । तर प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत नहुँदा समस्या परिरहेको छ । गाउँपालिकाले खडा गरेको हेल्थ डेस्कमा समेत दक्ष जनशक्ति आवश्यक रहेको छ । हिमा गाउँपालिको मेडिकल अधिकृत व्यवस्था गरिदिनको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग आग्रह गरेको थियो । दुई पटक कार्यपालिका बैठकले गरेको निर्णयसहित पत्राचार भएपनि कुनै सुनुवाइ नभएको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढा बताउँछन् । उनले भने,‘यहाँ सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र छ । तर मेडकल अधिकृत नहुँदा चिकित्सकीय सेवा प्रदान गर्न सकिएको छैन् । सामान्य उपचार गर्न खलंगा पुग्नु पर्ने यहाँका बिरामीको बाध्यता छ । ’

यो गाउँपालिकामा ३ वटा स्वास्थ्य चौकी र ४ वटा सामुदायिक स्वास्थ्य केन्द्र छन् । अहिले सबै स्वास्थ्य संस्थामा तीन महिनालाई पुग्ने औषधि भण्डारण गरिसकिएको छ । तर स्वास्थ्य संस्थाबाट रेफर भएर आउने बिरामी हेर्ने चिकित्सक नहुँदा निकै समस्या छ । गाउँपालिका अध्यक्ष रजबहादुर शाही तत्काल मेडिकल अधिकृत व्यवस्थापन गर्न नेपाल सरकारलाइ आग्रह गर्छन् ।

गाउँगाउँमा कोभिड १९ को त्रास छ । घरदैलोमा पुगेर बिरामीको उपचार गर्नु पर्ने बेला हो । स्वास्थ्य संयोजक रावत भने,‘मेडिकल अधिकृत नै नहुँदा समस्यामा छौँ ।’ पछिल्लो समयमा स्वास्थ्य केन्द्रमा चेकजाँच गराउन आउनेका संख्यामा समेत बृृद्धि भएको छ ।

 

प्रकाशित: ६ वैशाख २०७७ ०३:४८ शनिबार

स्वास्थ्य_केन्द्र संकट कोरोना कोभिड_१९