स्वास्थ्य

‘लकडाउन’को मारमा परेका नगरबासीलाई सहुलियत दरको खाद्यान्न उपलव्ध गराइने

खोटाङ – जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’ को मारमा परेका नगरबासीलाई सहुलियत दरमा खाद्यान्न उपलव्ध गराउने भएको छ। कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणकाक्रममा आव्हान गरिएको ‘लकडाउन’का कारण चर्को मूल्यावृद्धि भएको र कालोबजारी सुरु भएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले नगरबासीलाई वडा–वडाबाट सहुलियत दरको खाद्यान्न उपलव्ध गराउने निर्णय गरेको हो।

‘लकडाउन’को मारमा परेका नगरबासीलाई सहुलियत दरको खाद्यान्न उपलव्ध गराउनका लागि ११ वटै वडालाई प्रतिवडा न्यूनतम १० लाख बजेट निकासा दिने निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए। ‘लकडाउनका कारण उपभोग्यवस्तुको कालोबजारी र मूल्यावृद्धि सुरु भइसकेको छ,’ नगर प्रमुख राईले भने, ‘यो अवस्थामा नगरवासीलाई सहुलियत दरमा खाद्यान्न उपलव्ध गराउने तयारी गरिएको हो।’ घरधुरी संख्याको आधारमा कतिपय वडामा १० लाखभन्दा बढि बजेठ पठाइने नगरपालिकाले जनाएको छ। 

स्वास्थ्यकर्मीको मृत्यु भए आश्रित परिवारलाई १० लाख 

हलेसी तुवाचुङ नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा व्यवस्थापनकाक्रममा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई १० लाख दिने निर्णय गरेको छ। यस्तै, कोरोना भाइरसको रोकथाम तथा व्यवस्थापनकाक्रममा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई प्रोत्साहन भत्ता सम्वन्धी कार्यविधि तयार पारेर प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख राईले बताए। 

कोरोना भाइरस रोकथाम तथा व्यवस्थापनका लागि हलेसी तुवाचुङ नगरपालिकाले बजेट रकमान्तर गरेर नगरस्तरिय विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ। कोरोना भाइरस नियन्त्रण, राहत वितरण तथा क्वारेन्टीन सञ्चालन लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि बजेट नभएकाले अन्य शिर्षकको बजेट कोषमा जम्मा गरेर खर्च गर्ने तयारी गरिएको हो। 

मर्मत सम्भार कोषबाट १ लाख ५० हजार, मेलमिलाप केन्द्रको ४ लाख र महिला सहकारी भवनको १० लाख बजेट रकमान्तर गर्ने निर्णय गरिएको नगर प्रमुख राईले बताए। मर्मत सम्भार शिर्षकको बजेट स्वास्थ्य सामग्री खरिदमा, मेलमिलाप केन्द्रको बजेट क्वारेन्टाइन सञ्चालन तथा महिला सहकारी भवनको वजेट राहत वितरणमा खर्च गरिने नगरपालिकाले जनाएको छ। बैठकले अन्यत्रबाट घर आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा राख्न वडास्तरीय समन्वय समितिलाई जिम्मेवारी दिने, चैत १ गतेदेखि यता घर आएका स्थानीयलाई र्‍यापिड डाइग्नोस्टिक टेष्टका लागि स्वास्थ्यचौकी महादेवस्थानमा भेला गराउन समन्वय गर्ने लगायतका निर्णय गरेको छ। 
 

प्रकाशित: ५ वैशाख २०७७ १३:०९ शुक्रबार

(कोभिड–१९ लकडाउन खाद्यान्न