स्वास्थ्य

राहतको चामल जनप्रतिनिधिले घर लगेपछि…

काठमाडौं- लकडाउनको बेला सरकारले राहतका लागि पठाएको चामल काठमाडौ बूढानीलकण्ठ नगरपालिका वडा नं ९ जनप्रतिनीधि पर्शुराम कार्कीले आफ्नै घरमा लगेको पाइएको छ। गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका वडा सदस्य कार्कीले राहतका लागि आएको जिरा मसिनो चामल ६ बोरा आफ्नै घरमा लगेका हुन्।

गत चैत २८ गते शुक्रबार नयाँ कोलोनीस्थित बिजी ड्राइभिङ सेन्टरमा दिनभर राहात बाँडिएपछि बाँकी रहेको चामल वडा कार्यालयमा थन्क्याउन लगेका बेला कार्कीले आफ्नो घरमा ६ बोरा चामल लगेका थिए। भोलिपल्ट वडा कार्यालयमा रहेको सिसी टिभी फूटेजमा कार्कीले चामल गाडीमा लोड गरेको देखिएपछि उनलाई कार्यालयमा बोलाएर माफी माग्न लगाइएको थियो। सो वडाका एक उपभोक्ता समितिका सदस्यका अनुसार वडा सदस्य बनेका कार्कीले २५ केजी प्याकेटको जिरा मसिनु ६ बोरा चामल सोही रात आफ्नो घरमा लगेर झारेछन्।

तर कार्की सो चामल आफ्नो व्यक्तिगत प्रयोजनको लागि नलगेको दावी गरेका छन्। उनले सबैको सहमतिमा ४४ बोरा चामलबाट १ बोरा चामल श्री देव कुमारलाई दिईएको बताएका छन्। ‘४३ बोरामध्येबाट बाँकी रहेको ५ बोरा चामल कसैलाई आपत पर्दा दिने गरि म आफूले सामान सप्लायर मिलन कार्कीलाई जानकारी गराई लगेको हुँ। मैले लगेको सामान मेरो व्यक्तिगत प्रयोजनको लागि थिएन र उक्त ५ बोरा चामल घरमा राख्न उचित नहुने हुँदा सोहि दिन बेलुका शुस्मिता स्टोरलाई फिर्ता गरेको थिए’, उनले नागरिक न्यूजसँग भने ‘स्टोरमा चामल फिर्ता गरिएको जानकारी प्राप्त हुँदा समेत मेरो व्यक्तिगत चरित्र हत्या गर्ने नियतले केही विपक्षी स्थानीय साथीहरुले सीसीटिभी फुटेज लगायतको प्रमाण भन्दै लोड अनलोडको भिडियोलाई आधार जस्तो बनाएर दोषी देखाउने प्रपञ्च रचियो ।

वितरण गरेर बाँकी रहेको चामल वडा कार्यालयमा राख्न भनी पठाइएको थियो। २५ केजीवाला ४४ बोरा चामल फिर्ता पठाइएको थियो। साथमा उग्रिएको दाल, तेल, साबुन र अन्य खाद्यपदार्थहरु पनि थियो। तर कार्कीले चामल मात्रै घरमा लगेका थिए। सो वडा कार्यालयमा करिब ८ सय नागरिकलाई राहत वितरण गर्ने कार्यक्रम तय भएको थियो। उनले चामल झारेको स्थानीय बासिन्दाले समेत देखेपछि भोलिपल्टै वडा कार्यालयमा खबर गरिएको थियो। त्यसपछि उनलाई स्पष्टिकरण समेत सोधिएको थियो । वडा कार्यालयमा पार्टीका नेताहरुले स्पष्टिकरण सोधेपछि गल्ती स्वीकार गरी माफी मागेका थिए।

प्रकाशित: ५ वैशाख २०७७ १०:१५ शुक्रबार

कोरोना_भाइरस कोभिड_१९ जनप्रतिनिधि