स्वास्थ्य

एम्बुलेन्सले नमानेपछि मोटरसाईकल चलाएर आफै अस्पताल पुगे

आइसोलेसन कक्षमा डाक्टरद्धारा परामर्श दिइँदै ।

धादिङ – र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) गर्दा कोरोना पोजेटिभ देखिएका युवक एम्बुलेन्सले अस्पताल पु¥याउन नमानेपछि मोटरसाइकल चलाएर आफै आइसोलसन कक्षमा पुगेका छन्। जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ३ अमराईका २७ वर्षीय युवक आफै मोटरसाइकल चलाएर राती साढे ११ बजे धादिङबेसीमा आइपुगेका हुन्। मैदी स्वास्थ्य चौकीमा मंगलबार र्‍यापिड डाइग्नोस्टिक टेष्टमा पोजेटिभ भेटिएपछि उनलाई एम्बुलेन्स मार्फत धादिङबेसीमा स्थापना गरिएको आइसोलेसन कक्षमा ल्याउने तयारी थियो तर एम्बुलेन्सले नमानेपछि मोटसाइकलमा आएका हुन्। 

ज्वालामुखी गाउँपालिकाभरि रहेका चार वटा एम्बुलेन्सले युवकलाई ल्याउन नमानेपछि वडा नम्बर ३ का वडा अध्यक्ष रुद्रमान श्रेष्ठको पहलमा मोटरसाइकलमा ल्याइएको हो। ‘एम्बुलेन्सका लागि फोन गर्दा कोहीले पीपीई नभएको कसैले फोन नै नउठाउने, अफ गरेपछि मोटरसाइकलमा ल्याइएको हो’, अध्यक्ष श्रेष्ठले भने, ‘एम्बुलेन्स नआएपछि तीनवटा मोटरसाइकलमा २० मिनेटको दुरी कायम राखेर धादिङबेसीको आइसोलेसनमा ल्याएका हौं।’ गाउँपालिकाले नै हरेक स्वास्थ्य चौकी र एम्बुलेन्स चालकहरुलाई पीपीई प्रदान गरेका थिए तर आपत विपतमा सहयोगी कोही नभएको उनले गुनासो गरे।  

राती नै जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएका ती युवकको स्वास्थ्य परिक्षण र हेरचाहका लागि स्वास्थ्यकर्मीहरुको बिशेष टोली परिचालन गरिएको छ। जिल्ला अस्पताललाई संघीय सरकारले कोरोना उपचारको लागि कोभिड क्लिनिकका रुपमा तोकेको छ। हाल ९ बेडको आइसोलेसन कक्ष निर्माण गरेको छ। त्यही कक्षमा ती युवकलाई राखिएको हो। उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार बिरामी भनिएका युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। अहिले उनीमा कुनै पनि समस्या देखिएको छैन।

उनी कार्यरत रहेको युनिभर्सल पिस फेडेसनको कार्यक्रमका लागि एक महिना दक्षिण कोरिया बसेर फागुन २० गते नेपाल फर्किएका थिए। नेपाल फर्कने बितिकै १३ दिन हैटौडामा बसेर धादिङ (घर) फर्किएका थिए। घरमा आएपछि घाँटी दुख्ने, रुखाखोकी लागेपछि टेकु अस्पतालका स्वास्थ्यकर्मीसँग फोनमा परामर्श लिदाँ ज्वरो नआएकाले घरमै सुरक्षित तरिकाले बस्नु भनेर स्वास्थ्यकर्मीले सुझाव दिए र घरमै अलगै बेड र भाडाकुडाको प्रयोग गरि बसेका उनले बताए।
गाउँपालिकाले विदेशबाट आएका ३५ जनामा गरेको आरडिटी परीक्षणमा ती युवकको रिपोर्ट पोजेटिभ आएपछि स्थानीयहरू त्रसित भएका छन्। स्थानीयहरुलाई सुरक्षित रहनका लागि वडा कार्यलयले आग्रह गरेको छ। साबुन पानीले हात धुने, घरबाट बाहिर ननिस्कने, धेरै मानिस एकै ठाउँमा जम्मा नहुने लगायतको सुचना माइकिङ गरिरहेको वडा अध्यक्ष श्रेष्ठले बताए। 

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका व्यक्तिमा पनि विस्तृत परीक्षणमा नेगेटिभ देखिन सक्ने भएकाले आतङ्कित नहुन र थप सचेत भएर बस्न स्वास्थ्य कार्यलय धादिङका प्रमुख डा. भुवन पौडेलले बताए। ‘आरडीटी रिपोर्टका आधारमा कसैलाई पनि कोरोना भएको ठोकुवा गर्न सकिदैन’, डा. पौडेलले भने, ‘उनको थ्रोट श्वासलाई थप परीक्षणको लागि टेकु अस्पताल पठाइएको छ, त्यहाँको आधिकारीक रिपोर्ट आएपछि मात्र कोरोना भएको हो वा होइन पुष्टी हुन्छ।’ आधिकारिक निकायबाट पीसीआर परीक्षण रिपोर्ट सार्वजनिक नभएसम्म जिल्लावासी कोहि पनि आतङिकत नभई सचेत भएर सुरक्षितका साथ घर भित्रै बस्न पौडेलले आग्रह गरे।  

कोरोना पोजेटिभ देखिएका ती युवक र उनको सम्पर्कमा रहेका सबै व्यक्तिको तत्काल पहिचान गरि उनीहरुको आरडीटी परिक्षण गर्नु अनिवार्य भएको पौडेलले बताए। जिल्ला पर्याप्त मात्रामा ¥यापिड डाइग्नोस्टिक परीक्षण किट नभएकाले प्रदेश सरकार तथा संघीय सरकारले आवश्यक किट उपलव्ध गरिदिनुपर्ने उनले बताए। जिल्लाका सबै ठाउँमा आरडीटी परिक्षणका लागि ७ सय थान किट आवश्यक छ। आरडीटी रिपोट पोजेटिभ देखिएका व्यक्तिको पिसिआर रिर्पोट आएपछि उनको सम्पर्कमा आएका परिवार लगायत स्थानीयहरुको खोजी गरेर क्वारेन्टिनमा राखिने बताइएको छ। हाल धादिङमा र्‍यापिड डाइग्नोस्टिक टेष्टको लागि ३ सय किट ल्याइएको थियो। जसमध्ये २ सय ४० वटा परीक्षण भइसकेको छ। एकजना बाहेक सबैको नेगेटिभ रिर्पोट आएको छ। 
 
 

प्रकाशित: ३ वैशाख २०७७ ११:०४ बुधबार

र्‍यापिड टेष्ट कोभिड–१९