स्वास्थ्य

हिँडेर आएका ३५ जनालाई क्वारेन्टाइनमा राखियो

सुर्खेत  - विभिन्न जिल्लाहरुबाट पैदल हिँडेर कर्णाली प्रदेश भित्रिएका ३५ जनालाई प्रदेश सरकारले मंगलबार मध्यराति क्वारेन्टाइनमा राखेको छ। उनीहरुहलाई नेपाली सेनाको व्यवस्थापनमा सञ्चालन भइरहेको वीरेन्द्रनगरस्थित खुल्ला मञ्चको क्वारेन्टाइनमा राखिएको प्रदेश सरकारले जनाएको छ। विभिन्न जिल्लामा रोजगारी गरेर फर्कने क्रममा बबई नाकामा रोकिएका ३५ जनालाई ल्याएर क्वारेन्टाइनमा राखिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।

‘रोजगारीका लागि कर्णाली बाहिर रहेका विभिन्न जिल्लाका नागरिकहरु हिँडेरै कर्णालीमा भित्रिरहेका छन्,’ प्रवक्ता केसीले भनिन्, ‘अव त्यसरी भित्रिने नागरिकहरुलाई पनि क्वारेन्टाइनमा राख्छौं।’ 

क्वारेन्टाइनमा राखिएकाहरु मध्ये ३३ पुरुष, एक–एक जना महिला र बच्चा छन्। नेपाली सेनाका अनुसार दैलेखका १०, जाजरकोटका ८, सुर्खेतका ६, सल्यानका ५, जुम्लाका ३, अछामका २ र रुकुम पश्चिमका एक जनालाई क्वारेन्टाइमा राखिएको छ। उनीहरु मकवानपुर, सप्तरी, रुपन्देहीलगायतका जिल्लाबाट हिँडेरै कर्णालीमा भित्रिएका थिए।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कोरोना संक्रमण रोक्न र फैलिन नदिनका लागि हिँडेर आएका नागरिकहरुलाई पनि क्वारेन्टाइनमा राखिने बताए। ‘उच्च सावधानी अपनाउनकै लागि कर्णालीमा आउने नयाँ व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेका हौं,’ उनले भने, ‘१४ दिनसम्म क्वारेन्टाइनमा राखेर नियमित स्वास्थ्य चेकजाँच गछौं।’

प्रकाशित: ३ वैशाख २०७७ ०३:३२ बुधबार

क्वारेन्टाइन पैदल काेराेना