स्वास्थ्य

बेलसोत क्वारेन्टाइनका २६ घर फर्किए

उदयपुर- कोरोना भाइरस (कोभिड–१९) संक्रमण आशंकामा क्वारेन्टाइनमा राखिएका उदयपुरका २६ जना घर फर्केका छन् । भारतका बिभिन्न ठाउँबाट काकडभिट्टा नाका हुँदै आप्mनो घर उदयपुर आएका ३ महिलासहित २६ जनालाई गत १२ गतेदेखि कटारी नगरपालिका १ बेलसोतस्थित नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको थियो ।

संभावित संक्रमितलाई दुईसाता अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नियमानुसार क्वारेन्टाइन अवधि पूरा गरेकाले उनीहरुलाई घर पठाइएको हो । १२ गते २१ र १३ गते ६ जना भारतबाट आएकाहरुलाई त्यहाँ राखिएको थियो । उनीहरुको स्वाबसमेत परीक्षण गरिसकिएको छ ।

१४ दिन क्वारेन्टाइनमा बसिसकेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले उनीहरुको स्वाव संकलन गरी परीक्षण गर्न बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । स्वाब पठाएको ४ दिनपछि बिपीले दिएको रिपोर्टमा सबैको कोरोना रिपोर्ट नेगेटिभ देखाएपछि आईतबार सबैलाई घर पठाइएको रणसार्दुल गणका सेनानी (मेजर) अनुज महतले बताए ।

क्वारेन्टाइन अवधि पूरा गर्नेहरुमा ताप्ली गाउँपालिकाका १६, त्रियुगा नगरपालिकाका ३ महिला, उदयपुरगढी गाउँपालिकाका २, लिमचुङबुङ गाउँपालिकाका ३ र रौतामाई गाउँपालिकाका १ जना रहेको मेजर महतले बताए । त्रियुगा र लिमचुङबुङका ६ जनालाई प्रदेस सांसद कला घलेले, ताप्लीकालाई गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले र उदयपुरगढी तथा रौतामाईकालाई उदयुरगढी ४ का वडाध्यक्षले क्वारेन्टाइन पुगेर जिम्मा लिएर गएको महतले बताएका छन् ।

प्रकाशित: २ वैशाख २०७७ ११:२८ मंगलबार

बेलसोत_क्वारेन्टाइन काेराेना काेभिड_१९