स्वास्थ्य

सुर्खेतमा आठ करोड बढीको कोष

वीरेन्द्रनगर- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरससँग जुध्न दुई करोडको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ। उक्त कोषमा उद्योगी, व्यवसायी, विभिन्न संघसंस्था, बैंक, लघुवित्तले रकम जम्मा गर्ने क्रम जारी छ। वीरेन्द्रनगरजस्तै सुर्खेतका प्रायः स्थानीय तहले विपद् व्यवस्थापन कोष स्थापना गरेका छन्। जसबाट उनीहरू कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि काम गरिरहेका छन्।

यसले कोरोना भाइरसको संक्रमण हुन नदिने क्रियाकलाप, संक्रमण फैलिएमा हुन सक्ने जोखिम कम गर्न, औषधि उपचारका लागि सहयोग पुग्ने स्थानीय तहको अपेक्षा छ। सुर्खेतका नौ स्थानीय तहले आठ करोड चार लाख रूपैयाँको कोष स्थापना गरेका छन्। यसमा अन्य उद्योगी, व्यवसायी, संघसंस्था, लघुवित्त, समाजसेवीलाई रकम जम्मा गर्न आह्वान गरिएको छ। पञ्चपुरी नगरपालिकाले ७५ लाखको कोष स्थापना गरेको नगरपालिकाका नगर प्रमुख उपेन्द्रबहादुर थापाले जानकारी दिए। यो सँगै दुई करोडभन्दा माथिको सम्झौता नभएका योजनाको रकम पनि उक्त कोषमा राख्ने नगर प्रमुख थापाको भनाइ छ। यस्तै भेरीगंगा नगरपालिकाले एक करोड एक लाख रूपैयाँको कोष स्थापना गरेको छ।

गुर्भाकोट नगरपालिकाले ९३ लाख रूपैयाँ कोषमा जम्मा गरेको छ। नगरपालिकासँगै प्रदेश सरकार, संघसंस्था, समाजसेवीले पनि उक्त कोषमा रकम जम्मा गर्ने क्रम बढेको नगरपालिकाले जनाएको छ। उक्त कोषको रकम राहत, स्वास्थ्यकर्मी परिचालनलगायतमा खर्च हुने उनको नगर प्रमुख हस्त पुनले जानकारी दिए।

लेकवेशी नगरपालिकाले एक करोडको कोष स्थापना गरेको छ। नगर प्रमुख गगनसिं सुनारका अनुसार अन्यबाट करिब दुई लाख रूपैयाँ जम्मा भएको छ। सिम्ता गाउँपालिकाले एक करोडको कोष स्थापना गरेको छ। उक्त कोषबाट सामग्री खरिददेखि क्वारेन्टाइन निर्माणसम्मको काम भएको गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिए। यहाँ करिब १५ लाख रूपैयाँसम्म खर्च भइसकेको गाउँपालिकाले जानकारी दिएको छ।

यता चिंगाड गाउँपालिकाले २५ लाख रूपैयाँको कोष स्थापना गरेको छ। यहाँ गाउँपालिकाले करिब २० दखि २५ लाख रूपैयाँ र प्रदेश सरकारले उपलब्ध गराएका १५ लाख रूपैयाँ मात्र जम्मा भएको गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले जानकारी दिए। अवस्था सामान्य भएकाले थोरै मात्रामा उक्त पैसा खर्च भएको उनले जनाए। हाल गाउँपालिकाले यहाँ ४४ विपन्न तथा गरिब घरपरिवारलाई राहतस्वरूप चामल, दाल, नुन, तेललगायका सामग्री वितरण गाउँपालिकाका अध्यक्ष चन्दको भनाइ छ।

बराहताल गाउँपालिकाले पनि विपदसँग जुध्न एक करोडको कोष स्थापना भएको छ। करिब दुई लाखसम्म जम्मा भएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिए। यहाँ पनि कुनै पनि संघसंस्था, लघुवित्तलगायतले सहयोग गरेका छैनन्। साथै गाउँपालिकाले सीमा नाकामा स्वयम् सेवक परिचालन गरेको उनको भनाइ छ। ‘स्वयम् सेवकले अरु पालिकाबाट आएकालाई आफ्नो पालिकामा छिर्न दिँदैन,’ उनले भने, ‘हाइवेमा भने सुरु सुरु आफ्नो गन्तव्यमा हिँड्नेलाई रोक्ने गरिएको छैन।’

चौकुने गाउँपालिकाले विपद् कोषमा १० लाख रूपैयाँ जम्मा गरेको छ। केही संघसंस्थाले पनि उक्त कोषमा रकम जम्मा गरेको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले जानकारी दिए। व्यापारी, उद्योगीलाई उक्त कोषमा रकम जम्मा गर्न अनुरोध गरिएको अध्यक्ष शाहीले बताए। ‘यो कोष यतिमै सीमित हुँदैन,’ उनले भने, ‘भोलि योभन्दा ठूलो महामारी तथा प्रकोप हुन सक्छ। त्यसैले यसलाई बृहत कोष निर्माण गर्छाैं।’ गाउँपालिकाले फजुल (जथाभावी) खर्च नगरेको भन्दै अध्यक्ष शाहीले भने, ‘यहाँ आवश्यक पर्ने काम गरेका छौं। फजुल खर्च पनि गरेका छौनौं।’

साथै वीरेन्द्रनगर नगरपालिकाले कोरोना रोकथाममा खटिएका कर्मचारीको मृत्यु भएमा १० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। कोरोनाको संक्रमण रोक्न खटिएका नगरपालिकामा कार्यरत कुनै पनि कर्मचारीको कोरोनाकै कारण ज्यान गएमा यो क्षतिपूर्ति दिने निर्णय भएको वीरेन्द्रनगरका कार्यबहाक मेयर मोहनमाया ढकालले जानकारी दिइन्।
१) वीरेन्द्रनगरः दुई करोड
२) भेरीगंगाः एक करोड एक लाख
३) लेकवेशी ः एक करोड
४) पञ्चपुरीः ७५ लाख
५) गुर्भाकोटः ९३ लाख
६) सिम्ताः एक करोड
७) चिंगाडः २५ लाख
८) बराहतालः एक करोड
९) चौकुनेः १० लाख
 

प्रकाशित: २ वैशाख २०७७ ११:१६ मंगलबार

कोभिड–१९ कोरोना उपचार_कोष