स्वास्थ्य

रौतहटका संक्रमित युवा जसले चोर बाटोबाट वोर्डर पार गरेका थिए

सांकेतिक तस्बिर

रौतहट- रौतहटको ईशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमण देखिएका युवक भारतको राजधानी दिल्लीबाट फर्केको पाइएको छ।  भारतको राजधानी दिल्लीस्थित पहाडगंजको एउटा ब्याग कारखानामा काम गर्ने १९ वर्षिय युवकलाई कोरोना भाइरसको संक्रमण देखिएको हो।

संक्रमित युवकसँगै ईशनाथका ३ जना दिल्लीबाट फर्किए। अन्य तीन जनाको रिपोर्ट भने निगेटिभ आएको छ।  

भारतमा पनि लकडाउनको विस्तार भएसँगै उद्योग बन्द भए पछि चारै जना युवकहरु बिहारी साथीहरुसँगै पैदल निस्केका थिए।  चैत १४ मा पैदलै हिँडेका सबैजनाले भारतको बिहारका यात्रुहरुसँगै ट्रकमा आएका थिए।  ट्रकले १६ गते बिहान मोतिहारी पुर्‍याएको थियो।  मोतिहारीमा बिहान १० बजे झरेपछि चारैजना करिब ४० किलोमिटर पैदलै हिँडेर राति दश बजे नेपाल भारत सिमानामा अवस्थित आफ्नो गाउँ ईशनाथ नपाको मोतिपुर आइपुगेका थिए।  चारैजनाले राति दश बजे नै चोर बाटोबाट नेपाल छिरेर आफ्नो घर पुगेका थिए।  

स्थानीय जयनारायण साह कानुले भारतको दिल्लीबाट चारजना युवक घर आइपुगेको थाहा पाउने बित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेपछि चारै जनालाई १७ गते बिहानै ईशनाथ नगरपालिकाको माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो।  संक्रमित युवकसँगै बसमा आएका अन्य तीन जनाको रिपोर्ट भने निगेटिभ आएको इशनाथ नपाका स्वास्थ्य संयोजक इशराजुल खानले जानकारी गराएका छन्।

गत चैत २८ मा स्वास्थ्यकर्मीको टोलीले ईशनाथ नपाको क्वारेन्टाइनमा रहेका २५ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएकोका १ जनाको पोसिटिभ र अन्य सबैको निगेटिभ आएको खानको भनाइ छ।  संक्रमित युवकमा अहिलेसम्म कोरोनाको लक्षण मानिने ज्वरो, खोकी, स्वास फेर्न गाह्रो हुने तथा घाँटी दुख्ने लगायत कुनै पनि समस्या नदेखिएको स्वास्थ्य संयोजक खानको भनाइ छ।  संक्रमणको पुष्टि भएपछि युवकलाई आइसोलेसनमा राखिएको छ।

ईशनाथ नपाको क्वारेन्टाइनमा अहिले ३० जना रहेका छन्। जिल्लामा लकडाउनमा थप कडाइ गरिएको र सुरक्षा व्यवस्था पनि थप सुदृढ बनाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे जानकारी गराएका  छन्।  जिल्लाको सम्पूर्ण भागमा स्वास्थ्य सचेतनालाई अझ कडाइका साथ लागू गरिएको प्रजिअ घिमिरेको भनाइ छ।

जिल्लामा व्यापक सतर्कता अपनाइएको भए पनि ईशनाथमा भने व्यापक त्रासको माहोल रहेको स्थानीय जयनारायण साह कानुले बताए।  

प्रकाशित: १ वैशाख २०७७ १३:१२ सोमबार

कोरोना_भाइरस कोभिड_१९ रौतहट