स्वास्थ्य

नेपालगन्जमा अझै स्थापना हुन सकेन कोरोना प्रयोगशाला

बाँके- लकडाउन अवधि थपिदै गएपनि बाँकेमा कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशाला संचालनमा आउन सकेको छैन।

नेपाल सरकारले चैतको पहिलो साता भेरी अस्पतालसँगै राजधानी बाहिरका तीन स्थानमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। तर सरकारको निर्णय कार्यान्वयमा आउन सकेको छैन। संघीय सरकारको निर्णय कार्यान्वयन नभएपछि प्रदेश सरकारको सहयोगमा बाँकेमा प्रयोगशाला स्थापना गर्ने काम सुरु भयो। तर त्यो पनि कछुवाको गतिमा काम भएपछि प्रयोगशाला संचालन हुन नसकेको हो।

चैतको १९ गते भेरी अस्पताल नेपालगन्जले रियल टाइम पिसिआर मेसिन सहित प्रयोगशाला संचालनका लागि अन्य अत्यावश्यक सामाग्री तीन दिन भित्र उपलब्ध गराउने सर्त राख्दै सूचना प्रकाशित गरेको थियो। तर हालसम्म प्रयोगशाला संचालनमा आउन नसकेपछि नागरिकस्तरबाट अस्पताल प्रशासनको आलोचना सुरु भएको छ।

भारतीय सीमासँग जोडिएको बाँकेमा कोरोना परीक्षण गर्ने प्रयोगशाला स्थापनामा सरकारले उदासिनता देखाएको भन्दै स्थानीयहरुले गुनासो गरेका छन। सम्बन्धित निकायको लापरबाहीका कारण प्रयोगशाला स्थापनामा ढिलाइ भएको बताउँछिन नेपालगन्ज उपमहागनरपालिका उपमेयर उमा थापा मगर। उनले भनिन, ‘जसले जिम्मेवारी लिएका थिए ति निकाय यस्तो संकटका बेला पनि गम्भीर भएन। अस्पताललाई सोध्दा आज हुन्छ भोली हुन्छ भनेर जनतालाई झुक्काउने काम मात्र भएको छ। अस्पतालले विभिन्न बहाना गरेर समस्या मात्र देखाउने गरेको छ।’ जनतालाई झुक्काउने काम भैरहेको उनले दुखेसो पोखिन।

टेण्डर परेको कम्पनीले सबै सामान उपलब्ध गराउन नसक्दा पनि प्रयोगशाला स्थापनामा ढिलाइ भएको छ। टेण्डर परेको कम्पनीले हालसम्म पिसिआरमेसिन समेत उपलब्ध गराउन सकेको छैन। अस्पतालले बैकल्पिक रुपमा एक नीजि कम्पनीको पिसिआर मेसिन तयारी अवस्थामा राखेको जनाएको छ। तर त्यो मेसिन पनि संचालनमा आउन सकेको छैन।

बाँकेको ८  स्थानीय तहको १६ स्थानमा ४ सय ८९ जनालाई क्वारेनटाईनमा राखिएको छ। भारतबाट आएका नागरिकलाई सीमावर्ती क्षेत्रमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा २० जना र जैसपुर स्थित दशगजा स्थित निर्माणधिन सुख्खा बन्दरगाहमा १ सय ८१ जनालाई राखिएको छ। भारतसँग सीमाना जोडिएको नरैनापुर गाउँपालिकाको भगवानपुर स्थित जय किसन माविमा १ सय ३४ जना।

मानवअधिकारकर्मी विश्वजीत तिवारीले नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक अधिकार हनन भएको बताउँछन्। उनले भने, ‘विश्वमा कोरोनाका कारण संकटपुर्ण अवस्था उत्पन्न भएको छ। यस्तो बेला परीक्षणलाई तिव्रता दिनु पर्छ। त्यसमा अस्पताल र सरकारले पनि लापरबाही गरिरहेको छ। यसले नेपालमा ठूलो क्षति हुने सम्भावना बढाएको छ।’

कोरोना संक्रमित भेटिने बित्तिकै पहिलो चरणको उपचारका लागि नेपालगन्ज स्थित लायन्स डेण्टल अस्पतालमा ४० बेडको आइसुलेशन अस्पताल निर्माण गरिएको छ।

प्रदेश सरकारको २ करोड सहयोगमा खजुराको सुशील कोईराला क्यान्सर अस्पतालमा २ भेन्टिलेटर, ६ शैयाको आइसियु कक्ष सहित ४९ शैयाको आइसोलेशन स्थापना गरिएको छ। तर संक्रमण भए नभएको पत्ता लगाउने प्रयोगशाला नै स्थापना नहुँदा समस्या देखिएको बताउँछन भेरी अस्पताल नेपालगन्जका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापा। अस्पतालले कोरोना भाइरसका शंकास्पद ब्यक्तिको नमुना(स्वाब)परीक्षणका लागि काठमाडौ पठाउने गरेको छ।

प्रदेश नम्बर ५ सरकारको सहयोगमा प्रयोगशाला स्थापना गर्ने अन्तिम तयारी भएपनि रिएजेन्ट किट नहुँदा समस्या भएको उत्पन्न भएको थापाले बताए। थापाका अनुसार प्रयोगशालाको मेसिनमा प्रयोग हुने रिएजेन्ट किटको अभाव कारण प्रयोगशाला संचालनमा आउन सकेको छैन। कहिले देखि प्रयोगशाला सुरु हुन्छ बारेमा अझै अन्योलता रहेको थापा बताउँछन। उनले भने, ‘बजारमा किनेर पाउँदैन। यातायात ठप्प भएकोले पनि समस्या भएको हो। सरकारले किनेर हामीलाई पठाउने भनेको छ। तर कहिले आउँछ थाहा छैन।’

 

 

प्रकाशित: १ वैशाख २०७७ १०:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App