स्वास्थ्य

डोटीमा कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

र्‍यापिड किटबाट कोभिड–१९ संक्रमण परीक्षण गरिदैं । तस्बिरः नागरिक

डोटी- आदर्श गाउँपालिका–५ लामिखालका नरेश नागरीले आइतबार १९ दिन लामो पट्यार लाग्दो क्वारेन्टाइन बसाई बिट मारे। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले उनको ‘थ्रोट स्वाब’ परीक्षणका लागि लगेको थियो। आइतबार नतिजा आयो, कोभिड–१९ नेगेटिभ। अनि उनले क्वारेन्टाइनको बसाईबाट उन्मुक्ती पाए। ‘कुनै जेलभन्दा कम्ती कठिन बसाई थिएन,’ उनले भने,‘जेल पनि सायद यस्तो होला!’ तर सकुशल रहेकामा भने उनलाई औधि खुसी छ। ‘मनमा अलिअलि डर थियो। नतिजामा केही नदेखिएपछि खुसीखुसी घर जना पाईयो,’ उनले भने।

उनीसंगै क्वारेन्टाइनमा रहेका ७० जना सबैको नतिजा नेगेटिभ आएको छ। उनीहरु सबैलाई आजै क्वारेन्टाइनबाट घर पठाइएको छ। उनीहरुमात्र होईन हिजोआज डोटीका क्वारेन्टाइनमा रहेकाहरुको धमाधम परीक्षण भईरहेको छ। सबैको नतिजा नेगेटिभ आईरहेको छ, धमाधम घर गईरहेका छन्।

स्वास्थ्य कार्यालय डोटीका अनुसार स्वास्थ्य मन्त्रालयले थ्रोट स्वाब लगेका तीन सय ३० जनामध्ये दुई सय ५७ को नतिजा आइतबार आएको छ। उनीहरु सबैलाई आइतबारै सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाइनबाट घर पठाएका छन्। बाँकी ७३ जनाको रिपोर्ट भोलिसम्ममा आउने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए। उनले भने,‘सबैलाई १९/२० दिन पुगिसकेको छ। नतिजा नेगेटिभ आए उहाँहरु पनि घर जानुहुन्छ।’ यद्यपी घरमा गएर केहीदिन ‘सेल्फ क्वारेन्टाइन’मा बस्न भने सबैबाट प्रतिवद्धता लिएको उनले बताए। ‘जोखिमलाई हेरेर केहीदिन थप बस्न कागज गराएर पठाउने गरेका छौ,’ उनले भने।

स्वाब परीक्षणबाहेक र्‍यापिड किटबाट कोभिड–१९ संक्रमण परीक्षण गरिदैं। र्‍यापिड किटबाट पनि तीन दिनयता जिल्लामा कोभिड–१९ को परीक्षण भईरहेको छ। जसमा आइतबारसम्म दुई सय ७१ जनाको परीक्षण भएको छ। ती सबैको नतिजा पनि नेगेटिभ आएको छ।

स्वास्थ्य कार्यालयका अनुसार क्वारेन्टाइनमा रहेका र स्वाब लिन नभ्याईएका सबैको र्‍यापिड किटबाट कोभिड–१९ संक्रमण परीक्षण गरिदैं । तस्बिरः नागरिकयापिड किटबाट परीक्षण गरिएको छ। परीक्षणको नतिजापछि उनीहरुलाई पनि क्वारेन्टाइनबाट घर पठाइएको छ।

केही दिनअघिसम्म डोटीका क्वारेन्टाइनमा चार सय २४ जना भारतबाट आएका नेपाली नागरिकहरु थिए। उनीहरुमध्ये आइतबार ८७ जनामात्रै बाँकी छन्। तीन सय ३७ जना घर गएका छन्।

 

 

प्रकाशित: ३० चैत्र २०७६ १२:०० आइतबार

क्वारेन्टाइन कोरोना_परीक्षण कोभिड–१९ र्‍यापिड_किट