स्वास्थ्य

वीर अस्पतालबाट पनि कोरोना परीक्षण सुरु

काठमाडौं- सरकारले सात दिन यता कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण फेला नपरेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सात दिन यता कुनैपनि नयाँ संक्रमण नभेटिएको बताए।

उनले प्रत्येक दिन सात आठ सय भन्दा बढीको परीक्षण भइरहेको तर नयाँ संक्रमण फेला नपरेको बताए। यस्तै परीक्षणको दायरा बढाउन शनिबारदेखि काठमडौंको वीर अस्पतालबाट समेत परीक्षण सुरु गरिएको उनले बताए। प्रवक्ता देवकोटाले आइतबारदेखि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुबाट समेत परीक्षण शुरु हुने बताए।

अहिलेसम्म नेपालभर स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा ८ हजार ८२ जना रहेको उनले बताए। क्वारेन्टाइनमा बसेका सबैको र्यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने तयारी गरिएको समेत उनले बताए। यस्तै अहिलेसम्म आइसोलेसनमा ८२ जना रहेको समेत प्रवक्ता देवकोटाले जानकारी दिए। उनले तीन दिन यता र्‍यापिड डाइगोनेस्टिक किटको माध्यमबाट परीक्षणको दायरा बढाइएको बताए। विदेशबाट आउने व्यक्तिहरु नेपाल आइसकेको १४ दिन भन्दा बढी भएको अवस्थमा यो किटको परीक्षणबाट सही रिपोर्ट आउने भएकाले दायरा बढाइएको बताए। यस्तै ७७ वटै जिल्लामा र्‍यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने तयारी गरिएको समेत उनले जानकारी दिए।

 

प्रकाशित: २९ चैत्र २०७६ ११:४३ शनिबार

कोरोना_भाइरस कोभिड_१९ वीर_अस्पताल