स्वास्थ्य

कोरोना परीक्षण गति सुस्त

संघीय ब्युरो

काठमाडौ  - कोरोना संक्रमण नियन्त्रणमा राख्न विज्ञहरुले परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दोहो-याउँदै आए पनि अझै त्यसो हुन सकेको छैन। सबै प्रदेशमा कोरोना परीक्षण ल्याब स्थापना गरेर परीक्षणको काम थालिए पनि यसले अपेक्षाअनुसार गति लिन सकेको छैन। परीक्षणको गति र दायरा बढाउन निरन्तर दबाब बढ्दै गएपछि स्वास्थ्यकर्मीले केहीदिन यता किटमार्फत -यापिड टेस्टसमेत गर्न थालेका छन्। 

प्रदेश १ ः १८० जनाको परीक्षण
कोरोना परीक्षणका लागि प्रदेश १ मा शुक्रबारसम्म १ सय ८० जनाको नमुना संकलन भएको छ। तीमध्ये १ सय ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ। अन्यको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

धरानस्थित बिपी कोइरराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण भइरहेको छ। शुक्रबारदेखि विराटनगरस्थित कोसी अस्पतालमा पनि परीक्षण सुरु भएको छ। अब अझै धेरैको जाँच गर्न सकिने प्रदेश सरकारले जनाएको छ।

प्रदेशमा शुक्रबारसम्म १० जना आइसोलेसनमा छन्।२२ जनालाई आइसोलेसनबाट डिस्चार्ज गरिएको प्रदेश हेल्थ डेस्कले जनाएको छ। क्वारेन्टाइनमा रहनेको संख्या भने प्रदेश १ मा धेरै छ।शुक्रबारसम्ममा ६ सय ८ जना सरकारी क्वारेन्टाइनमा र ३ हजार दुई सय ९५ जना होम क्वारेन्टाइनमा रहेको प्रदेश सरकारले जनाएको छ।

प्रदेश २ ः २५४जनाको नमुना संकलन
प्रदेश २ मा शंकास्पद दुई सय ५४ जनाको स्वाब संकलन गरिएको छ। जनकपुरमा मात्र परीक्षण सम्भव नभएपछि नमुना काठमाडौं र हेटौंडा पठाइएको छ। हालसम्म १ सय १९ नमुनाको रिपोर्ट आइसकेको छ बाँकी १ सय ३५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

रिपोर्ट आएका सबैमा संक्रमण नभएको पुष्टि भएको उनले बताए। वीरगन्जमा संकलित ९ वटा नमुना परीक्षणका लागि हेटौंडा पठाइएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ प्रशासक विजय झाले बताए। उनका अनुसार प्रदेश २ मा ९ सय ९० जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ। १ हजार ३ सय ९८ जनालाई चिकित्सकको सल्लाहअनुसार होम क्वारेन्टाइनमा राखिएको प्रशासक झाले जनाए। आइसोलेसनमा सातजनालाई भर्ना गरिएको पनि उनले जानकारी दिए।

वागमती ः ७ सय ६६ जनाको परीक्षण
वागमती प्रदेशमा७ सय ६६ जनाको कोरोना परीक्षण गरिएको छ जसमध्ये प्राप्त सबै ४ सय १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ। यो तथ्यांकमा चितवनमाभएको परीक्षण संख्या समावेश छैन।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गत २४ घण्टामा पठाइएको ९७ जनाको नमुनाको नतिजा आउन बाँकी रहेकोसामाजिक विकास मन्त्रालयअन्तर्गतको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. पुरुषोत्तमराज सेढाईंले बताए। ‘प्रदेश राजधानी हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा ३५ जनाको परीक्षण गरिएको थियो,’ उनले भने, ‘२९ जनाको रिपोर्ट नेगेटिभ आएको छ, ६ जनाको रिपोर्ट आउन बाँकी छ।’

वागमती प्रदेशमा ५ सय ८६ जनालाई क्वारेन्टाइनमा राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यस्तै ३ सय ८८ जना आइसोलेसनमा रहेको र १३ जनालाई आइसियूमा राखी उपचार भइरहेको सेढाईंले बताए।

गण्डकी ः ३१८ जनाको नमुना संकलन
गण्डकी प्रदेशमा हालसम्म ३ सय १८ जनाको नमुना संकलन गरिएको छ। तीमध्ये २ जनामा पोजेटिभ र २ सय ९८ जनामा नेगेटिभ रिपोर्ट आएको छ। १८ जनाको नतिजा आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। पोजेटिभ पुष्टि हुनेमा बागलुङका दुई महिला छन्।

ज्वरो आउने, सुक्खा खोकी लाग्ने, छाती दुखेर सास फेर्न गाह्रो हुने लक्षण भएकाको स्वाब परीक्षण गर्ने गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले प्रोटोकल हेरेर मात्र स्वाब परीक्षण गर्ने गरिएको बताए। ‘इच्छा व्यक्त गर्दैमा स्वाब परीक्षण गरिँदैन’, उनले भने,‘बिरामीको ट्राभल हिस्ट्री र कोरोना रोगसँग मिल्ने लक्षण देखिएमा मात्र परीक्षण गर्छौं।’पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेर स्वाब परीक्षण भइरहेको छ। यस प्रदेशमा ४ जना आइसोलेसनमा छन् भने २ सय ९५ जना क्वारेन्टाइनमा रहेको जनाइएको छ।

प्रदेश ५ ः १९१ जनाको परीक्षण
प्रदेश ५ मा बिहीबारसम्ममा १ सय ९१ जनाको नमुना संकलन गरिएको छ।तीमध्ये १ सय ५७ जनालाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ। बाँकी ३४ जनाको रिर्पोट आउन बाँकी छ। कोरोनाको आशंकामा अहिलेसम्म १ सय ८५ जना अस्पताल आएको तथ्यांक छ। तीमध्ये ९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्रकुमार गिरीका अनुसार शुक्रबार साँझसम्म १ सय ५७ वटा नमुना परीक्षण गरिएकोमा ती सबैको रिपोर्ट नेगेटिभ आएको छ। चौबीसै घण्टा सञ्चालन गर्न सकिने गरी ल्याब स्थापना गरेको भनिएपनि अहिले दिनमा १०÷१२ वटा मात्रै स्वाब परीक्षण भइरहेको छ। ‘तत्कालका लागि दैनिक १५ घण्टा  सञ्चालन गर्ने लक्ष्य हो तर जनशक्ति र अन्य व्यवस्थापकीय तयारी चलिरहेकाले १२–१३ घण्टामात्रै सञ्चालन भइरहेको छ’, गिरीले भने।  

शुक्रबार साँझसम्म प्रदेशका विभिन्न क्वारेन्टाइनमा बसेका १ सय ६४ जनाको -यापिड टेस्ट गरिएको छ। रुपन्देही, पाल्पा, नवलपरासी र कपिलवस्तुमा -यापिड टेस्ट सुरु भएको निर्देशक डा. विनोद गिरीले बताए। 

कर्णालीमा ९०जनाको मात्र जाँच
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालामा कोरोना संक्रमण परीक्षण व्यवस्था गरिएको भए पनि यो कार्यले गति लिन सकेको छैन। प्रयोगशाला सञ्चालनमा आएको आठ दिनसम्ममाजम्मा ९० जनाको नमुना परीक्षण गरिएको छ। ती सबैको रिपोर्ट नेगेटिभ आएको कर्णाली प्रदेश अस्पतालका फिजिसियन केएन पौडेलले जानकारी दिए। उनका अनुसार पाँच सय ८६ वटा नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ। निर्देशनालयको ल्याबमा एक घण्टामा एउटामात्र नमुन परीक्षण गर्न सकिने उनले बताए। 

परीक्षणले गति लिन नसक्दा कर्णालीवासीमा त्रास बढेको छ। कर्णाली प्रदेशमा तेस्रो मुलुक र भारतबाट गरी नौ हजारभन्दा बढी नागरिक फर्किएका छन्। यही कारण प्रदेश सरकारले घुम्ती प्रयोगशाला परीक्षण सेवाको तत्काल व्यवस्थापन गर्न केन्द्र सरकारलाई अनुरोध गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट फर्केका नागरिकमा कोरोनाको संक्रमण हुन सक्ने भन्दै घुम्ती प्रयोगशाला परीक्षण सेवाको तत्काल व्यवस्थापन गर्न केन्द्र सरकारलाई अनुरोध गरेको प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन्।

सुदूरपश्चिममा धमाधम -यापिड टेस्ट
सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखि -यापिड टेस्ट सुरु भएको छ। बिहीबार र शुक्रबार गरी कैलालीमा ४ सय ८८, कञ्चनपुरमा ३ सय ७९, डोटीमा २ सय १३ र बाजुरामा ५१ जनाको -यापिड टेस्ट भएको प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताए। -यापिड टेस्ट गरिएका सबै एक हजार एक सय ३१ जनाको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए। यस्तै २ सय ६३ जनाको स्वाब परीक्षण भएकोमा ४ जनाको पोजेटिभ र २ सय ५९ जनाको नेगेटिभ रिपोर्ट आएको छ।१ हजार ४ सय ३२ जनाको परीक्षणको रिपोर्ट आउन बाँकी छ।

नेपाली सेना र स्वास्थ्यकर्मीको टोलीले भारतबाट फर्केर अछाम, डोटी, डडेल्धुरा र बैतडीमा क्वारेन्टाइनमा बसेकामध्ये १ हजार १ सय ८० नमुना संकलन गरेको थियो। मंगलबार अछाममा, बुधबार र बिहीबार डोटी, डडेल्धुरा र बैतडीमा नमुना संकलन गरिएको हो। यी नमुनाको परीक्षण रिपोर्ट आउन बाँकी छ।

यस प्रदेशमा शुक्रबारसम्ममा क्वारेन्टाइनमा बस्नेको संख्या २ हजार ५ सय १३ रहेको र १९ जना आइसोलेसनमा भर्ना भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख तथा कोरोना फोकल पर्सन नरेन्द्र सिंह कार्कीले बताए।

(राजु अधिकारी,  रोहित महतो,अशोक सुजन श्रेष्ठ, सन्देस श्रेष्ठ, रेखा भुसाल, नगेन्द्र उपाध्याय, गणेश विशु र  दिलबहादुर छत्यालको सहयोगमा)

प्रकाशित: २९ चैत्र २०७६ ०१:३० शनिबार

कोरोना_संक्रमण परीक्षण रिपोर्ट 'नेगेटिभ'