स्वास्थ्य

मेयर, अध्यक्ष भन्दा वडाध्यक्षलाई धपेडी

राहत वितरण गर्दै १६ नं. वडाध्यक्ष राई । तस्बिरः महेश्वर

उदयपुर- विश्व त्रासको कारक कोरोना भाइरस (कोभिड–१९) ले जनप्रतिनिधिलाई भने जिम्मेवार र संवेदनसिल हुन सुनौलो मौका दिएको छ । अपबादलाई छाडेर भन्ने हो भने संक्रमण फैलिन नदिन सतर्क गराउनेदेखि विपद्मा परेकालाई राहत दिएर त्राण भर्नेसम्मको कार्यमा अहिले गाउँ/नगरपालिकाका जनप्रतिनिधि अहोरात्र खटिरहेका छन् ।

महामारीविरुद्ध खट्ने चटारो भने प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षलाई भन्दा बढी वडाध्यक्षलाई छ । नामै ‘स्थानीय सरकार’ भएकाले पनि स्थानीय जनप्रतिनिधिप्रति जनता धेरै आसावादी छन् भने संघ र प्रदेश सरकार पनि स्थानीय तहकै भर परेको देखिन्छन् । त्यसैले गाउँगाउँमा सरकार भएको आभास दिलाउन पनि थप मरिमेट्नु परेको छ उनीहरुलाई ।

संघीयताको सुन्दरपक्ष स्थानीय सरकार जनताले चाहेका बेला चिमोठ्न पाउने निकाय हो । त्यसैले पनि स्थानीय जनप्रतिनिधिप्रति जनअपेक्षा बढी हुनु स्वभाविक हो । त्यसमाथि प्रदेश र संघीय सरकारले पनि उनीहरुकै टाउकोमाथि जिम्मेवारी थोपरेकाले कोरोनाविरुद्ध स्थानीय जनप्रतिनिधि प्राप्त स्वर्णावसर गुमाउन चाहदैनन् । यसले पनि उनीहरुलाई अहोरात्र खट्द थप मनोबल बढेको पाइएको छ ।

उदयपुरका जनप्रतिनिधि पनि कोरोनाविरुद्ध दिनरात नभनी खटिरहेका छन् । गाउँ दिहातको तुलनामा सहरोन्मुख र बजारक्षेत्रमा श्रमिक, मजदुर र विपन्न बर्गको बसोबास बढी हुने भएकाले बजारकै वडाध्यक्षहरुलाई महामारीको बेला धपेडी बढी छ । प्रमुख र उपप्रमुखलाई नीति निर्माण, आवश्यक निर्देशन र व्यवस्थापनको जोहो गर्दै बेलाबेलामा अनुगमन गरे पुग्छ भने वडाध्यक्षलाई घरघरको तथ्यांक संकलनदेखि राहत वितरणसँगै राहत पाए/नपाएको ठम्याउनेसम्मको जिम्मेवारी हुन्छ । जनताको गुनासो संबोधनसम्मको जिम्मेबारी पनि उनीहरुले नै निभाउनु पर्छ । त्यत्ति मात्र होईन, कहीँ कसैले राहत नपाए आक्रोसयुक्त फोनको पहिलो घण्टी बज्रने पनि वडाध्यक्षकै कानमा हो ।

१६ वडाको त्रियुगा नगरपालिकाकी एकमात्र महिला वडाध्यक्ष पशुपति चौधरी लकडाउन सुरुयता रातदिन भन्न पाएकी छैनन् । नगर न्यायीक समिति सदस्यसमेत रहेकी उनी दोहोरो जिम्मेवारी निभाउँदै कोरोनाविरुद्ध वडाबासीको सेवामा समर्पित छिन् । वडाध्यक्ष भएको सेवाकै लागि भन्ने गर्वसाथ बताउँदै उनी महामारी भित्रिन नदिन र कोरोना सामना गर्दै गर्दा घरपरिवार र छोराछोरीको त के, आफै भोकाएका बेला खानसम्म नभ्याएको सुनाउँछिन् ।

‘विपद्को विषम घडीमा आफू भन्दा जनतालाई परेको अप्ठ्यारोप्रति जनप्रतिनिधि संवेदनसिल हुनुपर्छ’ आफ्नो जिम्मेवारी सुनाईन् चौधरीले ‘आफू र परिवार भन्दा वडाबासीलाई भोकतिर्खाबाट बँचाउने चटारो छ अहिले ।’ लकडाउनले अप्ठ्योमा परेका १ सय ५० घरपरिवार मजदुर र बिपन्नलाई पहिरो चरणको राहत वितरण गरिसकेको उनले बताईन् ।

त्रियुगाकै १६ नं. वडाध्यक्ष मानबहादुर राई घरै बस्नुपर्ने लकडाउन सुरुदेखि टुसुक्क बस्नसम्म नपाएको बताउँन् । नगरको सबभन्दा जिम्मेबार युनिट सामाजिक विकास समितिको संयोजकसमेत रहेका उनलाई नीति निर्माणदेखि कार्यान्वयनसम्ममा खट्नु परेको छ । उनको वडामा मजदुर र विपन्न वर्ग धेरै भएकाले लकडाउनको पाँचौदिनदेखि नै राहत वितरण गर्र्न थालेको बताए । बुधबारसम्म ४ सय ३१ घरधुरी परिवारलाई खाद्य सामग्री वितरण गरिसकेको वडाध्यक्ष राईले बताए ।  

११ नं. सबभन्दा बढी मजदुर बर्ग बसोबास गर्ने वडा हो । सदरमुकाम गाईघाट समेटिएकाले पनि भौतिक पूर्वाधार निर्माणसँगै गरिखाने बर्गको बसोबास धेरै हुनु स्वभाविक भएकाले वडाध्यक्ष विश्वराज भट्टराई लकडाउन सुरु भएदेखि पुरा निन्द्रा सुत्न पाएका छैनन् । पहिलो चरणमा राहत प्याकेज वितरण गरिरहेका उनले धेरै मजदुर छुटेको गुनासो आएपछि टोल विकास संस्थामार्फत दोस्रो चरणको तथ्यांक संकलन थालेको बताए ।

‘बजारक्षेत्र भएकाले धेरै कामदार बाहिरबाट आएर गरिखाने छन्, लकडाउनमा कोही भोको नपरुन् भनेर उनीहरुको खोजी गरेर राहत दिदैछौं’ भट्टराईले भने ‘पहिलो चरणमा राहत बाँड्दै गर्दा धेरै छुटेको गुनासो आयो । त्यसैले टोल विकास संस्थामार्फत अर्को चरण संकलन भईरहेको छ ।’ ३ जनासम्मको परिवारलाई न्यूनतम १० किलोका दरले चामल वितरण गरिरहेको वडाध्यक्ष भट्टराईले बताए ।

उता १४ नं. वडाले बुधबारसम्म २ सय ४५ घरपरिवारलाई पहिलो चरणमा राहत वितरण गरेको वडाध्यक्ष कुरुङ राईले बताए । ४ नं. ले ३ सय घरधुरीलाई वितरण गरिसकेको छ भने बाँकीलाई बाँड्न अर्को चरणको तथ्यांक संकलन भईरहेको वडाध्यक्ष सुबास निरौलाले बताए । १० नं. वडाले वडामै कोष स्थापना गरेर सहयोग संकलनसँगै राहत वितरण गरिरहेको वडाध्यक्ष प्रकाश खड्काले बताए । सदरमुकामभित्रैको यो वडामा मजदुर र विपन्न बर्गको अस्थायी बसोबास बाक्लो रहेकाले दुई/तीन चरणमा राहत बाँड्नुपर्ने अवस्था आउनसक्ने वडाध्यक्ष खड्काले बताए ।

नगरका अन्य वडाहरुले पनि राहत वितरण कार्य जारी राखेको बताएका छन् । नगरका हरेक वडाले विपद् कोष स्थापना गरेर लक्षित बर्ग किटान र पहिचान गरी वडाबाटै राहत वितरण कार्य गर्ने व्यवस्था मिलाइएको त्रियुगा नगरप्रमुख बलदेव चौधरीले बताए । उनका अनुसार नगरले स्थापना गरेको १ करोड रकमको ‘नगर विपद् कोष’मार्फत सबै वडाहरुलाई रकम निकासा गरेर स्वास्थ्य सामग्री र राहत वितरण गर्ने काम भईरहेको छ ।  

यसैबीच बुधबार त्रियुगा नगरपालिकाले १६ वटै वडालाई आवश्यक कोरोनाविरुद्ध अभियानमा खर्च गर्नेगरी ७३ लाख रुपैयाँ निकासा गरेको छ । लकडाउनले बन्द राष्ट्रिय बाणिज्य बैंक दिउँसो १ बजे आधाघण्टा खुल्ला गरेर नगरपालिकाको रकम भुक्तानी दिएको बैंकका शाखा प्रबन्धक शिव पौडेलले बताए ।

 

प्रकाशित: २८ चैत्र २०७६ ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App