उदयपुर- उदयपुरका स्वास्थ्यकर्मीले क्वारेन्टाइनमै पुगेर कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु गरेका छन्। बिहीबार साँझ प्रदेश कार्यालयबाट र्यापिड डाईनोस्टिक टेस्ट (आरडिपी) किट आईपुगेपछि स्वास्थ्यकर्मी टोलीबाट क्वारेन्टाइनमै स्वास्थ्य परीक्षण सुरु भएको हो।
जिल्ला जनस्वास्थ्य अधिकृत मोहन सुबेदीले आरडिपी किट जिल्लामा प्राप्त भएपछि शुक्रबार विहानदेखि क्वारेन्टाइनमै पुगेर स्वास्थ्य परीक्षण गर्न थालिएको जानकारी दिए। उनका अनुसार शुक्रबार विहान १० बजेदेखि सुरु परीक्षण कार्य दिउँसोसम्ममा रौतामाई गाउँपालिका ७ को मुर्कुची र चौदण्डीगढी नगरपालिका ९ हडियास्थित २ क्वारेन्टाइनमा सकिएको छ।
मुर्कुचीका ४ र हडियाका ६ जनाको रगत परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको अधिकृत सुबेदीले बताए। उनका अनुसार आरडिटी किटबाट रक्त परीक्षण गरेको १५ मिनेटभित्रै रिपोर्ट आईसक्ने प्रविधि भएकाले परीक्षण कार्य सहज र सरल छ। ‘यसले रगत परीक्षण गरेको १५ मिनेटमै रिपोर्ट आउदो रहेछ’ सुबेदीले भने ‘त्यसैले केही दिनभित्रै स्वास्थ्यकर्मी टोली जिल्लाका सबै क्वारेन्टाइनमा पठाएर परीक्षण गरिसक्ने योजना बनाउँदैछौं।’
जिल्ला अस्पताल उदयपुरका अनुसार परीक्षण किट जनस्वास्थ्य कार्यालयमा आएको छ र जनस्वास्थयले नै परीक्षण कार्यको समन्वय गरिरहेको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जिवनारायण मण्डलले आरडिटी किट कोरोना संक्रमणको आशंका भएकाहरुको रगत परीक्षण गरिने प्रविधि भएको बताए। उनका अनुसार यसबाट रगतमा कोरोना पोजेटिभ देखिएमा अर्को चरणको परीक्षण ‘स्वाब टेस्ट’ गर्नुपर्ने हुन्छ।
आरडिटी गर्दा र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ देखिएमा उसलाई घर पठाए हुने तर, जसको रिपोर्ट पोजेटिभ देखिन्छ, त्यस्तालाई क्वारेन्टाइनमै राखेर स्वाब परीक्षण गर्नुपर्ने मण्डलले बताए।
उदयपुरमा हालसम्म ६७ जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण कार्य भईरहेको छ। जसमध्ये भारतबाट आएर कटारी १ बेलसोतस्थित क्वारेन्टाइनमा १४ दिन बिताईसकेका ३ महिलासहित २६ जनाको स्वाब परीक्षण गर्न बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। ३ दिनअघि नै पठाइएको स्वाबको रिपोर्ट भने आईनसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।
यसबाहेक बेलका नगरपालिकामा ९, चौदण्डीगढीमा एकजना आइसोलेसनसहित ७ जना, लिमचुङबुङ गाउँपालिकामा १२, त्रियुगा नगरपालिकामा ८ र रौतामाई गाउँपालिकामा ९ जना क्वारेन्टाइनमा रहेका छन्।
प्रकाशित: २८ चैत्र २०७६ ११:१३ शुक्रबार