स्वास्थ्य

गण्डकी प्रदेशमा कति छन् आईसीयू र भेन्टिलेटर ?

पोखरा- गण्डकी प्रदेशभित्र निजी र सरकारी लगानीमा ठूला आकारका अस्पताल संचालनमा रहेपनि जटिल अवस्थामा पुगेका कुनैपनि बिरामीलाई थप उपचारका लागि चाहिने आईसीयू र भेन्टिलेटरको संख्या भने अभाव रहेको छ। केहीगरि कोरोना संक्रमण बढ्दै गएर धेरै संख्यामा बिरामी जटिल अवस्थामा पुगेको खण्डमा ती बिरामीलाई उपचार गराउन आईसीयू र भेन्टिलेटर अपुग हुने देखिएको छ।

प्रदेशभित्र संचालित अस्पतालमा जम्मा १३२ आईसीयू र ५४ वटा भेन्टिलेटर मात्र रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ। प्रदेशभित्रका जिल्लामा संचालित अस्पताल भनिएपनि पोखराबाहेक अन्यत्र कुनैपनि ठाउँका अस्पतालमा आईसीयू र भेन्टिलेटर भने छैनन्। कास्की बाहेकका जिल्लाका सबै अस्पताल भेन्टिलेटर र आईसीयूविहीन छन्। पोखराका एकदर्जन अस्पतालमा यी सेवा भएपनि न्यून संख्या रहेको चिकित्सकले बताएका छन्।    

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराभित्रका मणिपाल शिक्षण अस्पतालमा सबैभन्दा बढी ३२ आईसीयू र १५ वटा भेन्टिलेटर रहेका छन्। त्यसपछि गण्डकी मेडिकल कलेजमा २३ आईसीयू र १० वटा भेन्टिलेटर रहेका छन्। पोखराकै चरक मेमोरियल अस्पतालमा १६ वटा आइसीयू र ६ वटा भेन्टिलेटर रहेका छन्। प्रदेशको सबैभन्दा ठूलो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा ११ वटा आईसीयू र २ वटा मात्र भेन्टिलेटर रहेका छन्।

निर्देशनालयका निर्देशक डा. विनोद बिन्दु शर्माले भेन्टिलेटर अभाव भएकोले थप्ने प्रयास भईरहेको जानकारी दिए। कोरोनाका दुईजना संक्रमित भेटिएको जिल्ला बागलुङका लागि तत्कालै दुईवटा भेन्टिलेटर पठाउने तयारी भईरहेको उनले बताए। त्यसबाहेक आईसीयू व्यवस्थापनका लागि पनि पाँचदिने सूचना जारी गरेर द्रुत गतिमा काम गर्ने तयारी भएको उनले बताए। ‘बागलुङमा ५ वटासम्म भेन्टिलेटर बढाउने प्रयासमा छौ। अहिले प्रदेशका अस्पतालभित्र पनि भेन्टिलेटर र आईसीयू छन, ती पनि कुनै न कुनै रुपमा उपयोग हुनेछ,’ शर्माले भने, ‘अपुग हुने ठानेर नै थप्ने प्रयास गरेका छौ ।’ उनका अनुसार एउटा भेन्टिलेटरको बजार मूल्य १५ देखि २२ लाख रुपैयाँ पर्छ। धेरै ठूलो लागत पर्ने भएकोले पनि सबै अस्पतालले धेरै संख्यामा यी पूर्वाधार राख्न नसक्ने उनले बताए।

शर्माका अनुसार अहिले अस्पतालमा रहेका सबै भेन्टिलेटर र आईसीयू पनि संचालनयोग्य अवस्थामा छैनन। करिब ७० प्रतिशत मात्र संचालनमा रहेको हुनसक्ने उनले बताए। निजी वा सरकारी अस्पतालमा बिग्रेको अवस्थामा भेन्टिलेटर भएको खण्डमा मर्मतका लागि प्राविधिक खटाउने पनि उनले बताए। ‘सबै मेसिन चालु अवस्थामा भए नभएको भन्ने पनि यकिन छैन। तर, ७० प्रतिशत मेसिन मात्र संचालनमा रहेको अनुमान छ,’ उनले भने, ‘बिग्रेर थन्किएका रहेछन भने पनि ती मेसिन तत्कालै मर्मत हुनेछन्।’ प्र्रदेशभित्रका अस्पतालमा संचालित हुने भेन्टिलेटरले प्रयाप्त हुने उनको दावी छ।

 शर्माका अनुसार कोरोना संक्रमित सबैलाई आईसीयू र भेन्टिलेटरमा राख्न जरुरी पर्दैन। संक्रमितमध्ये ४ प्रतिशत बिरामीलाई मात्र कठिन अवस्था आउने भएकोले ती बिरामीका लागि मात्र आईसीयू र भेन्टिलेटर आवश्यक पर्छ। ‘त्यसैले अहिले नै अपुग हुन्छ भन्नुपर्दैन। न्यून संख्यामा बिरामीलाई मात्र आईसीयू र भेन्टिलेटर चाहिने हो। करिब ९० प्रतिशत संक्रमितलाई सामान्य उपचारपछि निको हुन्छ,’ उनले भने। केहीगरि अपुग भएमा अन्यत्रका अस्पतालबाट भएपनि पूर्वाधार थप्ने उनले बताए। बजारमा तत्काल खरिद गर्नका लागि पनि भेन्टिलेटर नपाएको उनले बताए। बजारमा यी उपकरण चाहेजति खरिद गर्न नपाएको पनि उनले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यका अनुसार स्वासप्रश्सावमा समस्या आएका बिरामीलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ। कोरोनाले स्वासप्रश्सावमा पनि समस्या निम्त्याउने गरेकोले केहीगरि संक्रमित बढेको खण्डमा ती बिरामीको उपचार गर्नका लागि अहिले अस्पतालमा रहेका भेन्टिलेटर र आईसीयूले अपुग हुने आचार्यले बताए। कोरोनाका संक्रमित देखिएपछि केहीदिन अघि क्षेत्रीय अस्पतालले नै बागलुङका लागि एउटा भेन्टिलेटर पठाएको उनले बताए।

‘प्रदेशभित्रका अस्पताल भनिएपनि पोखराका अस्पतालमा मात्र भेन्टिलेटर र आईसीयू छन्। ती पूर्वाधारले पनि बिरामी थपिएको खण्डमा अपुग हुन्छ,’ आचार्यले भने, ‘सबैजिल्लाबाट बिरामी पोखरा भित्रिने हो भने थोरै संख्यामा संचालित आईसीयू र भेन्टिलेटरले थेग्नै सक्दैन ।’ अस्पतालमा भेन्टिलेटर र आईसीयूका उपकरण अभाव रहेको र छिटो भन्दा छिटो खरिद गर्न प्रदेश सरकारलाई अनुरोध गरिरहेको पनि उनले बताए। ‘अहिलेको संख्या निकै नै कम हो। यो संख्या जतिसक्दो छिटो बढाउनुपर्छ। नत्र अवस्था जटिल हुनसक्छ,’ आचार्यलले भने। कास्की बाहिरका कुनैपनि स्वास्थ्य संस्थामा भेन्टिलेटर र आईसीयू नभएकोले कोरोनाका संक्रमित बढेको खण्डमा त्यसको चाप पोखराले खेप्नुपर्ने अवस्था आउने र त्यो बेला पनि अपुग हुने उनले बताए।

 

प्रकाशित: २७ चैत्र २०७६ १०:५६ बिहीबार

कोरोना_भाइरस कोभिड_१९ गण्डकी_प्रदेश