स्वास्थ्य

राहत कोष स्थापना गर्दै बैतडीका स्थानीय तह

बैतडी- कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि बैतडीका स्थानीय तह राहत कोष स्थापना गर्न थालेका छन्। कोरोना भाइरसको महामारी रोक्नका लागि राहत कोष स्थापना गरिएको स्थानीय तहहरुले जनाएका छन्।

दशरथचन्द नगरपालिकाले विपद् व्यवस्थापन कोष अन्तर्गत नै रहने गरेर राहत कोष खडा गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन्। सो कोषमा नगरपालिकाले विभिन्न शीर्षकबाट बजेट रकमान्तर गरेर १३ लाख जम्मा गरेको छ भने कञ्चन डेभलपमेन्ट बैंकले दिएको हजार रुपैयाँ पनि त्यसै कोषमा जम्मा गरेको छ।

यस्तै पाटन नगरपालिकाले पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २० लाख रकम विनियोजन गरेको नगरप्रमुख केशवबहादुर चन्दले जनाए। जिल्लाको दोगडाकेदार गाउँपालिकाले २९ लाखको राहत कोष स्थापना गरेको जनाएको छ भने सुर्नया गाउँपालिकाले २० लाखको राहत कोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए। शिवनाथ गाउँपालिकाले १० लाख विनियोजन गरेर राहत कोष स्थापना गरेको र यसमा अरुले पनि रकम जम्मा गर्न गाउँपालिकाले आग्रह गरेको छ।

मेलौली नगरपालिकाले विपद् व्यवस्थापन कोषमा १० लाख रकम अघि नै छुट्याएको र कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सोही शीर्षकबाट खर्च गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए। पुर्चौंडी नगरपालिकाले पनि कोरोना नियन्त्रण तथा रोकथामका लागि विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने र थप आवश्यक परेमा अन्य शीर्षकबाट त्यसै कोषमा रकम जमा गर्ने तयारी गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए।

सिगास गाउँपालिकाले कोरोना भाइरस रोकथाम १२ लाखको राहत कोष स्थापना गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए। डिलासैनी गाउँपालिकाले पनि राहत कोष स्थापना गर्ने जनाएको छ। यस्तै पञ्चेश्वर गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ।

प्रकाशित: २७ चैत्र २०७६ ०९:४० बिहीबार

राहत_कोष स्थानीय_तह कोभिड–१९