रसुवा – जिल्ला प्रशासन कार्यालय रसुवाले लकडाउन अवधिभरका लागि पुनः पास जारी गर्न सुरू गरेको छ। सवारी पास लिएर दुरूपयोग गर्ने बढेपछि चैत १८ गतेदेखि सवारी पास वितरण रोकिएको थियो। एम्बुलेन्स र शवबाहनको विकल्पमा प्रयोग हुने र मानवीय उद्धारको लागि प्रयोग हुने सवारी साधनलाई पास जारी गर्न लागिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।
बिरामी र सुत्केरीलाई अस्पताल लैजाँदा र फर्कदा, मृतकको हकमा दाहसंस्कारको लागि घाटसम्म लैजाँदा, परम्परा अनुसार किरिया बस्ने व्यक्ति भए सम्बन्धित स्थानसम्म आवतजावत गर्न साथै मानवीय उद्धार कार्यका लागि खटिने व्यक्तिकोले प्रयोग गर्ने सवारी साधनलाई पास उपलब्ध गराइने छ।
एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला सवारी साधन, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग व्यक्ति तथा संघसंस्थाहरू, सूचना तथा प्रशारण विभागद्वारा जारी गरिएको प्रेस पास प्राप्त गरेका सञ्चारकर्मी, स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फर्मासिष्ट, प्रयोगशालामा कार्यरत प्राविधिक अस्पतालमा कार्यरत अन्य कर्मचारीहरू, औषधि उत्पादन, ढुवानी र बिक्री वितरणमा संलग्न हुने जनशक्तिका लागि पास आवश्यक पर्दैन।
त्यसैगरी खानेपानीको मर्मत सम्भार र वितरण, फोहोरमैला व्यवस्थापनमा परिचालित, बैंक तथा वित्तीय संस्थामा कार्यरत जनशक्ति, अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालवाहक सवारी साधनहरू र पशुपंक्षीहरूको दाना, घाँस, पराल ढुटो ढुवानी गर्ने सवारी साधनलाई पास आवश्यक नपर्ने कार्यालयले जनाएको छ।
प्रकाशित: २७ चैत्र २०७६ ०३:३७ बिहीबार