स्वास्थ्य

चारै जनाको रिपोर्ट कोरोना नेगेटिभ

सिन्धुपाल्चोक- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंकामा आइसोलेसन वार्डमा उपचाररत सबै चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ। बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्र र चौतारा जिल्ला अस्पतालको आइसोलेसनमा एक शंकास्पद बिरामी उपचाररत थिए। राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले बुधबार चारै जनामा कोरोना संक्रमण नभएको रिपोर्ट पठाएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए।

जिल्लाको बाह्रविसेस्थित आइसोलेसनमा बाह्रविसे नगरपालिकाका २७ वर्षीया रेनु बिक, उनकी बहिनी १५ वर्षीया सुष्मा बिक र २३ वर्षीय रोशन शेर्पा तथा लिसंखुपाखर गाउँपालिका–७ की ४० वर्षीया सुनमाया तामाङ चौताराको आइसोलेसनमा उपचाररत थिए। सुष्माबाहेक तीन जना चैत पहिलो सातामात्र विदेशबाट फर्केका थिए। कोरोना संक्रमणको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि उनीहरु अस्पताल पुगेका थिए।

संक्रमण नदेखिएपछि बाह्रविसेमा रहेका तीनै जनालाई बुधबारै घर पठाइएको त्यहाँका डा. किशोर सुब्बाले जनाए। चौतारामा उपचाररत सुनमायाको भने ज्वरो नघटेपछि ओपिडी वार्डमा सारेर थप उपचार थालिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँले बताए। योसमेत सिन्धुपाल्चोककमा कोरोना आशंकामा हालसम्म आठ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। स्वाब परीक्षण गरिएका उनीहरुमध्ये पाँचजना विदेशबाट आएका थिए। सातको आइसोलेसन र एकको होमक्वारेन्टाइनमा राखेर स्वाब लिइएको थियो।

 

प्रकाशित: २६ चैत्र २०७६ १०:५१ बुधबार

कोरोना रिपोर्ट कोभिड–१९