स्वास्थ्य

ताप्लेजुङमा कोरोना नियन्त्रणका लागि ९ स्थानीय तहका जनप्रतिनिधिले करिव ४२ लाख सहयोग

ताप्लेजुङ – जिल्लाका ९ स्थानीय तहका जनप्रतिनिधिले करिव ४२ लाख रूपैयाँको कोष खडा गरि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण लागि योगदान गर्ने भएका छन्। सबै स्थानीय तहका प्रतिनिधिले कम्तिमा महिना दिन बराबरको आफुले पाउने सुविधा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।

फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङले भने डेढ महिना बराबरको तलव कोरोना भाईरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। उनको डेढ महिना मात्र ६७ हजार ५ सय रूपैयाँ  हुन्छ। बाँकी सबै ९ वटै स्थानीय तहका जनप्रतिनिधिले एक–एक महिनाको तलव सुविधा सम्वन्धित स्थानीय तहले बनाएको कोरोना भाईरस नियन्त्रण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरिसकेका छन्।

सबैभन्दा बढी फुङ्लिङ नगरपालिकाको योगदान रहने छ। त्यहाँका जनप्रतिनिधिले ८ लाख २७ हजार ५ सय रूपैयाँ सहयोग गरेका छन्। मेरिङ्देन गाउँपालिकाका जनप्रतिनिधिले ५ लाख ३७ हजार, फक्ताङ्लुङ गाउँपालिकाका जनप्रतिनिधिले ४ लाख ९४ हजार ८ सय ७५ रूपैयाँ र सिरिजङ्घा गाउँपालिकाका जनप्रतिनिधिले ४ लाख ८८ हजार ५ सय रूपैयाँ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित कोषमा जम्मा गरेका छन्।

यस्तै सिदिङ्वा गाउँपालिकाका जनप्रतितनिधिले ४ लाख ४८ हजार ५ सय, मैवाखोला गाउँपालिकाका जनप्रतिनिधिले ३ लाख ९५ हजार, पाथीभरा याङ्वरक गाउँपालिकाका जनप्रतिनिधिले ३ लाख ७८ हजार २ सय, मिक्वाखोला गाउँपालिकाका जनप्रतिनिधिले ३ लाख १५ हजार र आठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधिले ३ लाख ७ हजार ४ सय रूपैयाँ कोरोना रोकथाम तथा नियन्त्रण लागि सहयोग गर्ने भएका हुन्। ६१ वटा वडा रहेको यहाँका ९ स्थानीय तहका करिव साढे ३ सय जनप्रतिनिधिले कूल ४१ लाख ९१ हजार ९ सय ७५ रूपैयाँ योगदान गरेको पाईएको छ। 

प्रकाशित: २६ चैत्र २०७६ ०७:१७ बुधबार

स्थानीय_तह जनप्रतिनिधि कोभिड–१९ योगदान