स्वास्थ्य

कोरोना परीक्षणका लागि भक्तपुर अस्पतालमा पीपी बुथ

भक्तपुर- भक्तपुर अस्पताल दूधपाटीमा मंगलबारदेखि कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि पीपी बुथ राखिएको छ। अस्पतालको इर्मजेन्सी वार्डको बाहिर बुथ राखिएको हो। डा. महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्र र अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले बुथ बनाएको हो।

भक्तपुर अस्पताल मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले कोभिड १९ सम्भावित संक्रमितको घाँंटीबाट र्‍याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोभिड १९ सर्नबाट जोगाउन बुथ राखिएको जनाइन्। चिकित्सक बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट र्‍याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भावना शुन्य हुने जनाइएको छ। सो क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्ने हुन्छ।

बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवालले यसअघि एक कार्यक्रमबीच भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र अस्पताल मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमलाई यो बुथ हस्तान्तरण गरे। यस क्रममा उनले बुथ निर्माणमा सहयोग गर्ने राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष डा. महाबीर पुन, डा. अरुण कुँवर, डा. शंकर ढकाल, इन्जिनियर हरिराम हुमागाई, इन्जिनियर विमलराज गोसाई र सिदार्थविक्रम पाण्डेलगायतलाई विशेष धन्यवाद व्यक्त गरे।

देशभर कोरोनाको सम्भावित संक्रमितको परीक्षणका लागि ठाउँंठाउँंबाट बुथ बनाएर प्रयोग गरियोस् भन्ने हेतुका साथ नमूना बुथ बनाई हस्तान्तरण गरिएको  इन्जिनियर दुवुालले सुनाए। उनका अनुसार देशका आल्मुनियम वर्कसपमा यस्ता बुथ बनाउन सकिन्छ। यसका लागि आफूहरुको समूहले प्राविधिक सहयोग गर्न तयार रहेको उनले जनाए। बुथको प्रयोगले कोरोना भाइरसको उपचारमा थप सहयोग पुग्ने उनले बताए।

प्रकाशित: २५ चैत्र २०७६ ०९:०३ मंगलबार

कोरोना पीपी_बुथ कोभिड-१९