स्वास्थ्य

जुम्लाका हरेक पालिकामा राहत कोष

जुम्ला – कोराना भाइरसको संक्रमण हुन नदिनको लागि जुम्लाका हरेक पालिकामा राहत कोष खडा गरिएको छ। गन्युनतम ८ लाख रुपैयाँदेखि अधिकतम एक करोड रुपैयाँ सम्मको राहतकोष यहाँका स्थानीय सरकारले खडा गरेको हो। सबैभन्दा बढि  चन्दननाथ नगरपालिकाले एक करोड रुपैयाँ बराबरको राहतकोष खडा गरेको छ। चैत २३ गते बसेको नगरकार्यपालिकाको बैठकले कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार स्वरुप एक करोडको कोष स्थापना गरेको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् ।

उनका अनुसार यसअघि नगरपालिकामा १० लाख रुपैयाँ बराबरको मात्र राहत कोष खडा गरिएको थियो। कोरोना रोकथामका लागि कोषमा संकलित रकम अपुग भएकाले नगरकार्यपालिका बैठकले  एक  करोड रुपैयाँ पु¥याएको प्रवक्ता अर्जुनसिंह कठायतले जानकारी दिए। 


उनका अनुसार जनप्रतिनिधिले दुई पटकको बैठक भत्ता र कर्मचारीले एकदिनको तलब भत्ता कटाएर राहत कोषमा जम्मा गर्ने निर्णय भएको थियो, भने आर्थिक वर्ष २०७६/७७ को समपुरक कोष तथा दलित वर्गका लागि विनियोजित बजेटलाई रकमान्तर गरी राहत कोषमा जम्मा गरिने भएको छ। नगर क्षेत्रभरी राहत वितरणका लागि उपप्रमुख अप्सरादेवि न्यौपाने महतको संयोजकत्वमा ९ सदस्यी समिति गठन गरिएको छ। चन्दननाथ नगरकार्यपालिका बैठकले कोरोना संक्रमणबाट नगरपालिकालाई मुक्त बनाउन आठै स्थानीयतहसंग समन्वय गर्ने,राहत वितरण एकद्धारप्रणालीबाट गर्ने, संक्रमित भेटिएको खण्डमा निशुल्क उपचार गर्ने, नगरपालिका भित्र अपरिचित व्यक्तिलाई प्रबेशमा रोक लगाउने लगायतका निर्णय भएको प्रवक्ता कठायतले जानकारी दिए। 

जुम्लाको गुठिचौर गाउँपालिकाले राहतकोष खडा गरेको छैन्। तर कोराना भाइरसको संक्रमण हुन नदिनको लागि बजेट खर्च गरिरहेको छ। कनकासुन्दरी गाउँपालिकामा ६० लाख रुपैयाँको राहतकोष खडा गरिएको छ।  राहतकोष खडा गरेपछि आवश्यक पर्दा बजेट खर्च गर्न सहज हुने गाउँपालिकाले जनाएको छ।  पातारासी गाउँपालिकाले १० लाख रुपैयाँ, तातोपानी गाउँपालिकाले ८ लाख रुपैयाँ, तिला गाउँपालिकाले १० लाख रुपैयाँ, हिमा गाउँपालिकाले १० लाख रुपैयाँ र सिंजा गाउँपालिकाले १५ लाख  रुपैयाँको राहतकोष खडा गरेका छन्।  

गुठिचौर गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारी कलडाउनका कारण कोष स्थापना गर्न नसकेको बताउँछन्। तर १५ देखि २० लाख रुपैयाँ सम्मको राहतकोष खडा गर्ने तयारी भइरहेको उनी बताउँछन्।  एक नगरपालिका सहित सात गाउँपालिका गरी कोरोना रोकथाम तथा राहत वितरणका लागि झण्डै २ करोड ५० लाख रुपैयाँ बरावरको राहतकोष खडा हुने भएको हो। राहतकोषमा आफ्नो अनुुकुलतामा रकम जम्मा गरेर सहयोग गर्न सहयागी हातहरुलाई अपिल गरिएको छ। राहतकोष खडा गरेर यहाँका स्थानीय तहले नमुनाको काम गरेको भन्दै रकम खर्चमा पारदर्शीता देखाउन स्थानीयले आग्रह गरेका छन्। 

राहतकोष खडा गर्नु पुर्व यहाँका स्थानीय तहले जथाभावी रकम खर्च गरेका छन्। कार्यपालिका तथा विपत व्यवस्थापन समितिको बैठक नबसेर रकम खर्च गरेकोले पछि समस्या आउन सक्ने जानकारहरुले आँकलन गरेका छन्। 

प्रकाशित: २५ चैत्र २०७६ ०८:०० मंगलबार

कोराना राहत कोष