स्वास्थ्य

ऊर्जामन्त्री पुनद्वारा रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

काठमाण्डौं– ऊर्जा, जलश्रोत ताथ सिँचाइमन्त्री वर्षमान पुन (अनन्त)ले काठमाडौंबाट गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन्। मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका हुन्।

मन्त्री पुनले पीपीई सेट १ सय १० थान पठाएका छन्। पर्याप्त पीपीईको अभावमा महामारीका बेला स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गरिरहेका छन्। यस्तै पञ्जा १ हजार  थान, आधा लिटरको सेनिटाइजर १३ वटा र मास्क १ हजार थानसमेत रोल्पा पठाइएको छ।

ती स्वास्थ्य सामग्री जिल्ला अस्पतालसहित सबै स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने मन्त्री पुनले बताए।
रोल्पाका सबै १० वटै पालिकामा ती सामग्री पुग्नेछन्। जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा ती सामग्री संकलन गरिएको हो। जिल्लाबाट संघीय संसदमा प्रत्यक्ष निर्वाचित सांसदका हैसियतमा आपतका समयमा मद्दतसँगै रहेको सन्देश दिन मन्त्री पुनले ती सामग्री जिल्ला पठाएका हुन्।

यसअघि पहिलो चरणमा मन्त्री पुनले नै पठाएका ४० थान पीपीई, ४ हजार थान मास्क र १० थान इन्फ्रारेड थर्मोमिटरलगायत स्वास्थ्य सामग्री जिल्लाका एक नगरपालिका र ९ गाउँपालिकामार्फत सम्बन्धित स्वास्थ्य संस्थाहरुमा पुगिसकेका छन्।

 

 

प्रकाशित: २४ चैत्र २०७६ १२:२३ सोमबार

ऊर्जामन्त्री स्वास्थ्य_सामग्री कोभिड–१९ कोरोना