स्वास्थ्य

कोरोना कहर : गाउँपालिकाले किसान उकास्न तरकारी किन्दै, निःशुल्क वितरण

डुंगेश्वर गाउँपालिकाले खरिद गरेको तरकारी गाउँ लैजाने तयारीमा। तस्विर : गोविन्द केसी/नागरिक

दैलेख – जिल्लाको डुंगेश्वर गाउँपालिकाले किसानहरूले लगाएको तरकारी लकडाउनका कारण खेर जान थालेपछि किनेको छ। गाउँपालिकाले किसानबाट किनेको तरकारी प्रत्येक  वडामा नागरिकहरूलाई निःशुल्क वितरण गरेको हो। ठुलो मात्रामा तरकारी लगाएका किसानहरूलाई गाउँपालिकाले तरकारी किनेर प्रोत्साहन गरेको छ। व्यवसायिक कृषि पेशामा लागेका किसानलाई निराश नहुन भनेर गाउँपालिकाले तरकारी किन्ने निर्णय गरेको जनाईएको छ।

किसानसंग गाउँपालिकाले तरकारी उत्पादन नगरेका तथा किन्न नसक्ने परिवारलाई वितरण गरिएको हो। १७ गतेदेखी प्रत्येक दिन तरकारी गाउँपालिकाल तरकारी किनेर बाँडेको छ। प्रत्येक वडाका अध्यक्ष तथा सचिवहरूले तरकारीबिहिन तथा किन्न नसक्ने यस्ता परिवार पहिचान गरेर तरकारी वितरण गर्ने गरेको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए। स्थानीय गाउँमै खोलिएको उन्नत एग्रो फर्मबाट तरकारी किनेर बिक्री  गर्ने गरेको छ।

तरकारी किसान बन्दले डुब्ने र कृषिप्रति धारणा परिवर्तन नहोस् भनेर गाउँपालिकाले किनेर वितरण गरेको ६ नम्वर वडाका वडाअध्यक्ष बमबहादुर विसीले बताए। उनका अनुसार प्रत्येक दिन एउटा वडामा २ क्यून्टलका दरले आलोपालो तरकारी वितरण गर्ने गरिएको छ। आफूहरूले लगाएको तरकारी गाउँपालिकाले किनेर ठठुलो राहत भएको फर्म संञ्चालक देवेन्द्र गोदारले बताए।

किसानलाई उकास्न तथा विपतका बेला जनतालाई निःशुल्क तरकारी विपतका बेला उपलब्ध गराउन तरकारी किन्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मल्लको भनाई छ। डुंगेश्वर गाउँपालिकामा ६ वटा वडा रहेका छन्। प्रत्येक दिन तरकारी खरिद गरेको हिसाब राखेर अन्तिममा भुक्तानी दिने ब्यवस्था मिलाईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ललित थापाले बताए।

 

प्रकाशित: २१ चैत्र २०७६ १०:२४ शुक्रबार

किसान तरकारी निःशुल्क वितरण लकडाउन