स्वास्थ्य

ताप्लेजुङमा ९ जना क्वारेन्टाइनमा, एकको खोजी जारी

ताप्लेजुङ- फास्ट ट्र्याक निर्माणको काम रोकिएपछि घर फर्किएका ताप्लेजुङका ६ मजदुरसहित ९ जनालाई ताप्लेजुङका बिभिन्न स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनमा राखिएको छ।

फास्ट ट्रयाक निर्माणको काम तत्कालका लागि बन्द भएपछि घर फर्किएका उनीहरुलाई सिरिजङ्घा गाउँपालिकाले तेल्लोकस्थित तेल्लोक माविमा बनाएको क्वारेन्टाइनमा राखिएको छ। गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले अब क्वारेन्टाइन अवधिसम्म उनीहरुलाई त्यहिँ रहने र त्यसपछि स्वास्थ्य अवस्थाका आधारमा घरतर्फ पठाईने गरी तयारी भएको जानकारी दिए।

यस्तै फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र तापेथोकमा रहेको क्वारेन्टाइनमा २ जना रहेका छन्। गाउँपालिका अध्यक्ष सरोज एभेङले भारतबाट फर्किएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए। कामको सिलसिलामा भारत पुगेका उनीहरु फर्किएर आएपछि क्वारेन्टाइनमा राखिएको उनले बताए। सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु भञ्ज्याङ्मा रहेको क्वारेन्टाइनमा १ जनालाई राखिएको छ। उनी पनि वैदेशिक रोजगारीको सिलसिलामा भारतको रहेका थिए। लकडाउन अवधिमा फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष नरबहादुर कडिरियाले जानकारी दिए।

भारत लगायत तेस्रो मुलुकमा वैदेशिक रोजगारीमा गएर फर्किने तथा देशका बिभिन्न योजना तथा परियोजनाको काम स्थगित हुँदा त्यहाँ कार्यरत मजदुर तथा कामदार घर फर्कन थालेपछि यहाँका स्थानीय तहले उनीहरुलाई राख्न क्वारेन्टाइन थप गर्दै लगेका छन्। बुधबारसम्ममा १ सय २८ शैयाको क्वारेन्टाइन रहेकोमा शुक्रबार बिहानसम्म १ सय ५४ शैया पुगेको छ। बिहीबार मिक्वाखोला गाउँपालिकाले २० शैया तथा मैवाखोला गाउँपालिकाले १० शैयाको क्वारेन्टाइन थपेका छन्। मिक्वाखोला गाउँपालिकाका प्रवक्ता दीपेन्द्र लिवाङले २० शैयाको क्वारेन्टाइन तयार भएको बताए। स्वास्थ्यकर्मी नभएको भन्दै यो गाउँपालिकाले क्वारेन्टाइन निर्माण कार्यलाई केहि दिन पर सारेको थियो।

मैवाखोला गाउँपालिकामा ४ शैयाको क्वारेन्टाइन रहेकोमा ६ शैया थप गरी १० शैयाको बनाईएको गाउँपालिका अध्यक्ष राजनकुमार थत्लुङले बताए। उनले वडा नं १ र २ ढुङ्गेसाँघुमा समेत थप ५–५ शैयाको क्वारेन्टाइन थप गर्ने योजना बनाएको जानकारी दिए। फास्ट ट्र्याक निर्माणको काम रोकिएपछि घर फर्किएका पाथीभरा याङ्वरक गाउँपालिका घर भएका १ जनाको खोजी कार्य तीव्र बनाईएको छ। गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले उनको खोजी भईरहेको र फेला परेपछि गाउँपालिकाको केन्द्र थेचम्बुस्थित क्वारेन्टाइनमा राखिने बताए।

प्रकाशित: २१ चैत्र २०७६ ०७:४१ शुक्रबार

क्वारेन्टाइन काेराेना काेभिड_१९