स्वास्थ्य

नरैनापुरमा ‘कोरोना भाइरस संक्रमण उपचार कोष’ स्थापना

नरैनापुर गाउँपालिका स्थापना गरेको क्वारेन्टाइन ब्यवस्थापन गरिदै । तस्बिर : नागरिक

नेपालगन्ज- कोरोना भाइरसको संक्रमण फैलिन नदिने अभियानलाई ब्यवस्थित गर्न बाँकेको नरैनापुर गाउँपालिकाले ‘कोरोना भाइरस संक्रमण उपचार कोष’ स्थापना गरेको छ। गाउँपालिकाले १५ लाख रुपैयाँको कोष स्थापना गरी खाता सञ्चालनमै ल्याएको हो। कोषमा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले ब्यक्तिगत २५ हजार रुपैयाँ जम्मा गरेका छन्।

उक्त कोषमा सक्दो रुपले रकम जम्मा गरेर विपत्तीमा सहकार्य गर्न अपिल समेत गरेका छन्। ‘कोरोनाको संक्रमण रोक्न तथा विपन्न बर्गको राहतको लागि कोष स्थापना गरिएको हो,’ उनले नागरिकसँग भने। गाउँपालिकाको नरैनापुरस्थित सनराइज बैंकको खाता नम्बर ०७४०४८८०८७७०१००५ मा रकम जम्मा गरी सहयोग गरिदिन शाहले आग्रह गरेका छन्। ‘कोरोनाविरुद्धको अभियानमा रकमको अभाव हुन नदिन खाता सञ्चालनमा ल्याएका छौं, यो अभियानमा सबैको साथ प्राप्त गर्ने आशा राखेका छौं,’ शाहले थपे।

गाउँपालिकाले क्वारेन्टाइन सञ्चालन गरिरहेको छ। क्वारेन्टाइनमा करिब डेढ सय ब्यक्तिहरु बसिरहेको गाउँपालिकाले जनाएको छ। भारतमा मजदुरी गर्न गएका नेपाली नागरिक अबैध नाका हुँदै आउने क्रम नरोकिएपछि व्यवस्थापनमा चुनौती थपिएको अध्यक्ष शाहले बताए। तथापी, सबैको साथ र सहयोगले क्वारेन्टाइन ब्यवस्थापन गर्न सम्भव हुने औल्याए।

भारतबाट फर्केका नेपालीलाई सरकारले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकामा रोक लगाएपछि नरैनापुर क्षेत्रबाट पनि प्रवेश भएका थिए।


 

प्रकाशित: २० चैत्र २०७६ १२:०९ बिहीबार

कोरोना_भाइरस उपचार_कोष