स्वास्थ्य

कोरोनाविरुद्ध सतर्कता : सिगासमा हेलिप्याड

सिगास गाउँपालिकाले बनाएको हेलिप्याड । तस्बिरः नागरिक

बैतडी- सडक सञ्जालबाट टाढा रहेको बैतडीको सिगास गाउँपालिकाले दुई स्थानमा हेलिप्याड निर्माण गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमितलाई आपलकालिन रुपमा तत्काल जिल्ला बाहिर लैजानुपर्ने अवस्था आउन सक्ने भन्दै पूर्वसतर्कताका लागि हेलिप्याड निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।

वडा नं. २, गाँजरी र वडा नं. ८ को लेकममा अस्थायी हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए। कोरोना संक्रमणको जोखिम न्यूनीकरणको लागि गाउँपालिकाले उच्च सतकर्ता अपनाएको बताइएको छ। सडक नपुगेकाले विकट गाउँमा समस्या छ। अध्यक्ष धामीले भने, ‘गाउँपालिकासँग एम्बुलेन्स समेत छैन, संक्रमित भेट्टिएको खण्डमा तत्काल बाहिर लौजानुपर्ने अवस्थालाई मध्यनजर गर्दैै हेलिप्याड निर्माण गरेका छौं।’

यस्तै गाउँपालिकाले प्रत्येक वडामा क्वारेन्टाइनको व्यवस्था गरेको छ। विद्यालय र खाली रहेका घर क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको हो। गाउँपालिकामा ९० बेडको क्वारेन्टाइनका साथै गाँजरीमा ३ र लेकममा २ बेडका आइसोेलेसन कक्ष समेत निर्माण गरेको जनाएको छ। पालिकाका विभिन्न स्थानमा ६ वटा हेल्थ डेस्क स्थापना गर्दै भारत तथा अन्य मुलुकबाट आउने नागरिककको अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको गाउँपालिका स्वास्थ्य संयोजक जनकसिंह धामीले बताए।

सिगासमा हालसम्म ५६ जना भारतबाट आएका छन्। ति मध्ये १४ जना क्वारेन्टाइनमा र २६ सेल्फ क्वारेन्टाइनमा बसेका छन्।


                                                        

प्रकाशित: २० चैत्र २०७६ ०८:५९ बिहीबार

कोरोना हेलिप्याड कोभिड–१९