स्वास्थ्य

दिप्रुङमा थप दुई जना क्वारेन्टाइनमा

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बनाएको क्वारेन्टाइमा थप दुई जनालाई राखिएको छ। भारतको उत्तराखण्डबाट चैत ९ गते घर आएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका १७ र १९ वर्षका युवालाई क्वारेन्टाइनमा राखिएको हो।

ती युवालाई दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित स्वास्थ्य चौकीमा बनाइएको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए। यससँगै दिप्रुङ चुईचुम्मा गाउँपालिकामा क्वारेन्टाइनमा बस्नेको संख्या ६ पुगेको छ। उनीहरुलाई गाउँपालिकाले खाने सुविधा दिएर क्वारेन्टाइनमा राखेको अध्यक्ष राईले बताए। क्वारेन्टाइनमा बसेका उनीहरु फेसबुक चलाएर दिन बिताउने गरेका छन्। एक जना भने १४ दिनभन्दा अगाडि घर आएको कागजात पेश गरेर क्वारेनइनबाट बाहिरिसकेका छन्। गाउँपालिकाले चैत १२ गते ४० बेडको क्वारेन्टाइन बनाएको हो।

जिल्लामा हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ९ पुगेको छ। दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हालसम्म केपीलासगढी गाउँपालिकामा २ जना र साकेला गाउँपालिकामा एक जनालाई क्वारेन्टाइनमा राखिएको छ। विदेशबाट फर्कनेको संख्या अधिक भए पनि जिल्लाका अन्य स्थानीय तहको क्वारेन्टाइन भने हालसम्म रित्तो छ।

अधिकांश स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिलाई पनि सेल्फ क्वारेन्टाइन भन्दै घरमा बस्ने छुट दिएकाले क्वारेन्टाइनमा बस्नेको संख्या न्यून देखिएको हो। प्रशासनका अनुसार हाल मात्र विदेशबाट फर्किएका युवाको संख्या १२२ जना छ।

प्रकाशित: २० चैत्र २०७६ ०८:५३ बिहीबार

क्वारेन्टाइन काेराेना काेभिड_१९