स्वास्थ्य

झुलाघाटमा अलपत्र नेपाली भारतीय क्वारेन्टाइनमा

बैतडी- सीमामा अलपत्र परेका नेपाली मजदुरलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ। बैतडीसँग सीमा जोडिएको झुलाघाटमा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको हो।

लकडाउनका कारण सीमा नाका बन्द भएपछि सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए। तालेश्वरमा रहेको धर्मशालामा ५७ जना र खरक्युडा, जामिरपानी र रज्यौडामा रहेका आधारभूत विद्यालयमा एक सय ७० जना गरेर दुई सय २७ जना मजदुरलाई क्वारेन्टाइनमा राखिएको भट्टले बताए।

सबै मजदुरको स्वास्थ्य परीक्षण गरिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। क्वारेन्टाइनमा राखिएका नेपाली मजदुरको डा. सचिनप्रकाश देवल र डा. कल्पित रौतेलाको टोलीले स्वास्थ्य परीक्षण गरेको हो। क्वारेन्टाइनमा राखिएका नेपालीको लागि निःशुल्क खानाको व्यवस्था गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पिथौरागढको पहलमा नेपाली मजदुरहरुलाई क्वारेन्टाइनमा राखिएको हो। कोरोना भाइरसको संक्रमणका कारण भारतमा पनि लकडाउन गरिएपछि हिँडेर सीमा नाकासम्म पुगेका उनीहरु सीमा बन्द भएपछि अलपत्र परेका हुन्। केही नेपाली भने महाकाली नदीमा ट्युवका तरेर नेपाल भित्रिरहेका छन्।

भारतबाट नेपाल भित्रिएकाहरुलाई क्वारेन्टाइनमा राखिएको स्थानीय तहले जनाएका छन्। तर सबै स्थानीय तहले विदेशबाट आएका नेपालीको तथ्यांक राख्न नसक्दा कतिपय भने घरमै रहेका छन्। विदेशबाट फर्केपछि सरकारले करेन्टाइनमा बस्न गरेको आग्रहलाई नमान्दा गाउँमा कोरोना भाइरसको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन्।

प्रकाशित: १९ चैत्र २०७६ ०७:२८ बुधबार

क्वारेन्टाइन काेराेना काेभिड_१९ नेपाली_भारतीय