स्वास्थ्य

संक्रमित र मृतकको संख्या बढेको बढ्यै

जेनेभा– विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण एक सय तीनवटा मुलुकमा देखिसकिएको छ। कोभिड–१९ नामकरण गरिएको उक्त प्राणघातक भाइरसका कारण दिनानुदिन संक्रमित र मृतकको संख्या बढिरहेको छ। चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस संक्रमणलाई विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारीको संज्ञा दिएको छ। सोमबार साँझसम्मको विवरणअनुसार संसारभरि सात लाख ८५ हजार कोरोना भाइरसबाट संक्रमित भइसकेका छन्। त्यसमा ३७ हजार ८ सय जनाको ज्यान गइसकेको छ। संक्रमणका कारण विश्वभरि पछिल्लो २४ घन्टामा मात्रै एक हजार ४९ जनाको मृत्यु अमेरिकास्थित जोन हकिन्स विश्वविद्यमलयले जानकारी गराएको छ। मंगलबार बिहानसम्म प्राप्त समाचारमा संक्रमित व्यक्तिहरूमध्ये एक लाख ६५ हजार ६ सय सात ५९ जना उपचारपछि घर फर्किएका छन्।

इटालीमा भयावह स्थिति कायमै

इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या मंगलबार बिहानसम्म ११ हजार ५ सय ५९ पुगेको पछिल्लो समाचारमा जनाइएको छ। उक्त अवस्थालाई निकै भयावह मानिएको छ। चीनबाट सुरु भएको यस कोरोना भाइरस संक्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ।

त्यहाँ ज्यान जानेमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइएको छ। सो ठाउँमा इटालीमा सुरुदेखि नै संक्रमित हुनेको सङ्ख्या धेरै नै रही आएको देखिएको छ। इटालीमा संक्रमण हुनेहरूको संख्या एक लाख पुगिसकेको छ। त्यहाँ प्रतिदिन निकै नै ठूलो संख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ।

बढी मृत्यु हुने दोस्रो देश स्पेन

स्पेनमा ज्यान जाने नागरिकको संख्या सात हजार सात सय १६ पुगेको छ। त्यहाँ संक्रमित ८७ हजार ९ सय ५६ पुगेको छ। १६ हजार सात सय ८० नागरिक उपचारपछि निको भएर घर फर्किएका छन्। यसरी स्पेन कोरोना संक्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देश बनेको छ।

अमेरिकामा सबैभन्दा बढी संक्रमित

अमेरिका कोरोनाबाट सबैभन्दा धेरै नागरिक संक्रमित हुने देशमा परेको छ। त्यहाँ मंगलबार बिहानसम्म १ लाख ६४  हजार २ सय ६६ नागरिक संक्रमित भएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ। अमेरिकामा ३१ सय ७९ जनाको ज्यान गइसकेको छ। यसरी त्यहाँ निकै द्रुत रूपमा कोरोना संक्रमण विस्तार भइरहेको देखिएको छ। प्रतिदिन यहाँ हजारौं नागरिक संक्रमितको सूचीमा थपिने गरेका छन्।

अन्य विभिन्न देशको अवस्था

कोरोना संक्रमणबाट चीनमा तीन हजार तीन सय चारजनाको मृत्यु भएको छ। त्यहाँ ८१ हजार चार सय ७० जना संक्रमित छन्। ७५ हजार सात सयजना भने उपचारपछि घर फर्किएका छन्। इरानमा कोरोनाले दुई हजार ७ सय ५७ जनाको ज्यान लिएको छ। हाल त्यहाँ ४१ हजार चार सय ९५ जना संक्रमित छन्। १२ हजार तीन सय ९१ जना उपचारपछि घर फर्किएको बताइएको छ।

त्यसैगरी फ्रान्समा कोरोना भाइरस संक्रमणका कारण दुई हजार ६ सय ६ जनाको मृत्यु भएको छ। सोमबार प्राप्त समाचारअनुसार त्यहाँ ४० हजार एक सय ७४ जना संक्रमित रहेकोमा सात हजार २० जना उपचारपछि घर फर्किएका छन्। बेलायतमा पनि पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएको देखिन्छ। त्यहाँ कोरोनाले एक हजार दुई २८ जनाको ज्यान लिइसकेको छ। १९ हजार ६ सय ५८ जनामा संक्रमण देखिँदा त्यहाँ पाँच सयजनाजति भने उपचारपछि निको भएर घर फर्किएका छन्।

त्यस्तै नेदरल्यान्डमा कोरोना भाइरसको संक्रमणबाट सात सय ७१ जनाको मृत्यु भएको छ। त्यहाँ १० हजार आठ सय ६६ संक्रमित भएका छन्। दुई सय ५० जना भने उपचारपछि निको भएर घर फर्किएका छन्। जर्मनीमा कोरोना भाइरसको संक्रमणको कारण पाँच सय ४५ जनाको मृत्यु भएको छ। हाल त्यहाँ ६३ हजार ७९जना संक्रमित छन्। नौ हजार दुई सय ११ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

त्यसैगरी बेल्जियममा कोरोना संक्रमणका कारण चार सय ३१ जनाको मृत्यु भइसकेको छ। त्यहाँ संक्रमितको संख्या १० हजार आठ सय ३६ पुगेको छ। एक हजार तीन सय ५९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन्। स्विजरल्यान्डमा कोरोना संक्रमणका कारण तीन सयजनाको मृत्यु भएको छ। त्यहाँ १४ हजार आठ २९ जनामा संक्रमण देखिँदा एक हजार पाँच सय ९५ जना भने उपचारपछि घर फर्किएका छन्। दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणका कारण एक सय ५८ जनाको मृत्यु भएको छ। त्यहाँ नौ हजार ६ सय ६१ संक्रमित छन्। पाँच हजार दुई सय २८ जना भने उपचारपछि निको भएर घर फर्किएका छन्।

त्यस्तै टर्कीमा कोरोना संक्रमणबाट टर्कीमा पनि एक सय ३१ जनाको मृत्यु भइसकेको छ। त्यहाँ नौ हजार दुई सय १७ संक्रमित भेटिएका छन्। ब्राजिलमा यस संक्रमणबाट एक सय ३६ मृत्यु हुनुका साथै चार हजार दुई सय ५६ जना संक्रमित भएका छन्। स्विडेनमा कोरोना भाइरस संक्रमणबाट एक सय १० मृत्यु हुनुका साथै तीन हजार सात सय संक्रमित भेटिएका छन। पोर्चुगलमा संक्रमणबाट एक सय १९ जनाको मृत्यु भएको छ। पाँच हजार नौ सय ६२ संक्रमित भएका छन्।

त्यस्तै अस्ट्रियामा ८६ जनाको मृत्यु हुनुका साथै आठ हजार सात सय ८८ जना संक्रमित भएका छन्। क्यानाडामा संक्रमणबाट ६५ को मृत्यु भएको छ। त्यहाँ ६ हजार तीन सय २० जना संक्रमित भएका छन। डेनमार्कमा दुई हजार तीन ९५ संक्रमित भेटिएकोमा ७२ जनाको मृत्यु भएको छ। कोरोनाकै कारण जापानमा ५४ जनाको मृत्यु भइसकेको छ। त्यहाँ एक हजार आठ सय ६६ संक्रमित भएका छन्। कोरोना भाइरस संक्रमणबाट भारतमा २९ जनाको मृत्यु भइसकेको छ। त्यहाँ एक हजार २४ जना संक्रमित भएका छन्। कोरोना संक्रमणबाट पाकिस्तानमा १४ जनाको मृत्यु भएको छ। त्यहाँ एक हजार पाँच सय ९७ जना संक्रमित भएका छन्।

कोरोना भाइरसको महामारीबाट नर्वेमा २६, अस्ट्रेलियामा १७, इजरायलमा १५, मलेसियामा ३५, आयरल्यान्डमा ४६, चिलीमा सात, पोल्यान्डमा २२, रोमानियामा ४३, थाइल्यान्डमा सात, सिङ्गापुरमा तीन, रुसमा आठ, पेरुमा १८ को मृत्यु भइसकेको छ।

 

 

प्रकाशित: १८ चैत्र २०७६ ०६:०६ मंगलबार

कोरोना_भाइरस कोभिड_१९ मृत्यु