स्वास्थ्य

क्वारेन्टाइनमा राखिएका ३ जनाको खकार परीक्षणका लागि धरान पठाइने

ताप्लेजुङ- कोरोना संक्रमित युवतीसंगै आई ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टाइनमा राखिएका एक यात्रु र उनका २ आफन्तको खकारको नमूना परीक्षणका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईने भएको छ।

अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण र संकेत नपाइएको भएपनि स्वाब अर्थात् खकारको नमूना परीक्षणका लागि बिपी पठाउने तयारी गरिएको छ। जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले सोमबार साँझसम्म खकार संकलनका लागि प्रयोग गरिने एन९५ मास्कसहितका व्यक्ति र स्वास्थ्य सुरक्षा सामग्री आईपुगेपछि मंगलबार बिहान खकारको नमूना लिने तयारी गरिएको जानकारी दिए। उनका अनुसार नतिजाका लागि खकार लिएको २४ घण्टाभित्र त्यसको परीक्षण गरिसक्नु पर्छ।

बिहान लिएको खकार उसैदिन धरानतर्फ पठाउने आन्तरिक तयारी भईरहेको लामाले जानकारी दिए। ‘क्वारेटाइनमा रहेका सबैमा अहिले सम्म कुनै त्यस्तो पोजेटिभ लक्षण छैन’ लामाले भने‘ खकारको नमूना परीक्षणपछि प्राप्त नतिजाका आधारमा उनीहरु बारे कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिले निर्णय लिन्छ।’ लामाले यहाँस्थित तमोर अस्पताल प्रालिको आइसोलेसन कक्षमा रहेका एक जना उच्च ज्वरोका बिरामी खतरामुक्त रहेकोले उनको अन्तिम परीक्षणपछि मंगलबार डिस्चार्ज गर्ने तयारी भईरहेको जानकारी दिए।

प्रकाशित: १७ चैत्र २०७६ ०९:२० सोमबार

क्वारेन्टाइन कोरोना