स्वास्थ्य

खोटाङमा ६ जना मात्र क्वारेन्टाइनमा

खोटाङ– खोटाङमा विदेशबाट फर्किएर क्वारेन्टीनमा बस्ने युवाको संख्या ६ पुगेको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पाँच जनालाई क्वारेन्टीनमा राखिसकेको अवस्थामा साकेला गाउँपालिकामा एक जनालाई क्वारेन्टीनमा राखिएको छ।

गत फागुन २९ गते दुबईबाट नेपाल फर्किएका साकेला गाउँपालिका–२ रतन्छाका २६ वर्षीय युवालाई शनिबार बेलुकादेखि क्वारेन्टाइनमा राखिएको हो। रतन्छास्थित साकेला माबिमा निर्माण गरिएको १० शैयाको क्वारेन्टाइनमा उनलाई १४ दिनका लागि राखिएको वडाध्यक्ष उन्नत राईले बताए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

कतिपय स्थानीय तहले बनाएका क्वारेन्टाइन हालसम्म रित्तो रहेको अवस्थामा दिप्रुङले पाँच जनालाई र साकेलाले एक जनालाई मात्र क्वारेन्टीनमा राख्न सफल भएको छ। उनीहरुलाई गाउँपालिकाले खाने सुविधा दिएर क्वारेन्टाइनमा राखेको जनाएको छ। विदेशबाट फर्कनेको संख्या अधिक भए पनि जिल्लाका स्थानीय तहको क्वारेन्टाइन भने रित्तो अवस्थामा छ। अधिकांश स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिलाई पनि सेल्फ क्वारेन्टाइन भन्दै घरमा बस्ने छुट दिएकाले क्वारेन्टाइनमा बस्नेको संख्या न्यून दखिएको हो।

युवतीसँगै आएका एक जना पनि सेल्फ क्वारेन्टाइनमा
यस्तै, गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी युवतीसँगै यात्रा गरेका खोटाङका दुई जनामध्ये एक जना सेल्फ क्वारेन्टाइनमा बसेका छन्। केपीलासगढी गाउँपालिका घर भएका एक युवा धरानमा क्वारेन्टाइनमा बसिसकेको अवस्थामा जन्तेढुंगा गाउँपालिका–३ काहुलेका अर्का युवा भने सेल्फ क्वारेन्टाइन बसेका हुन्। उनलाई चैत १२ गते साँझदेखि १४ दिनसम्म छरछिमेकीसँग सम्पर्क तथा भेटघाट नगर्नेगरी स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको हो।

क्यूआर ६५२ कलसाईनको कतार एयरवेजमार्फत फर्किएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टी भएपछि उनीसँगै नेपाल आएर जिल्ला भित्रिएका युवाका कारण संक्रमणको त्रास छाएको थियो। युवतीसँगै नेपाल आउनेमध्येमा दुई जना खोटाङका थिए।

प्रकाशित: १७ चैत्र २०७६ ०८:१८ सोमबार

काेराेना काेभिड_१९ क्वारेन्टाइन