स्वास्थ्य

ताप्लेजुङमा १ सय ५ शैयाको क्वारेन्टाइन र १४ शैयाको आइसोलेन कक्ष

ताप्लेजुङ- ताप्लेजुङमा कम्तिमा १ सय ५ शैयाको क्वारेन्टाइन र १४ शैयाको आइसोलेसन कक्ष तयार हुने भएको छ। ९ स्थानीय तह रहेको यहाँका ८ वटा गाउँपालिकामा ८० र फुङ्लिङ नगरपालिकामा ३५ शैयाको क्वारेन्टाइन तयार हुने भएको हो।

फुङ्लिङ नगरपालिकामा भने ताप्लेजुङ उद्योग बाणिज्य संघको भवनमा ३५ शैयाको क्वारेन्टन कक्ष तयार भएको छ। बाणिज्य संघको दोस्रो तलामा २० र तेस्रो तलामा १५ शैयाको क्वारेन्टाइन तयार भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए। तयार भएका क्वारेन्टाइनमध्ये तेस्रो तल्लामा ३ जनालाई राखिएको छ। फ्रान्सबाट कतार ट्राजिन्ट हुँदै आएकी कोरोना संक्रमित युवतीसंगै यात्रा गरेका यात्रु, उनकी श्रीमती र छोरा गरी ३ जनालाई क्वारेन्टाइनमा राखिएको हो।

उता यहाँका प्रत्येक गाउँपालिकाले कम्तिमा १० शैयाका दरले आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइन क्षेत्र निर्माण गरिरहेका छन्। प्रमुख जिल्ला अधिकारी निरौलाले शुक्रबार अपरान्ह विज्ञप्ती प्रकाशित गरी गाउँपालिकाले निर्माण गर्दै आएको क्वारेन्टाइन इलाका निर्माणको कार्य चैत १५ गते शनिबार भित्रमा पूरा हुने जानकारी दिए।

यस्तै जिल्ला अस्पतालमा ६ शैया तथा सिरिजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोमा रहेको प्राथमिक स्वास्थ्य र मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुस्थित प्राथमिक स्वास्थ्यमा ४–४ शैयाको आइसोलेसन कक्ष तयार हुने समेत प्रजिअ निरौलाले जानकारी दिए।

प्रकाशित: १४ चैत्र २०७६ ११:०७ शुक्रबार

काेभिड_१९ काेराेना आइसोलेसन