स्वास्थ्य

कोरोना रोकथामका लागि गाउँपालिकामा बजेट रकमान्तर

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि एउटा योजनाको २० प्रतिशत बजेट रकमान्तर गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी क्रियाकलाप सञ्चालनकाक्रममा बजेट नभए भएपछि गाउँ कार्यपालिकाको बिहीबार बसेको आकस्मिक बैठकले तावा ताल निर्माणका लागि बिनियोजन गरिएको ७० लाख बजेको २० प्रतिशत (करिब १४ लाख) रकम गाउँपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने र खर्च गर्ने निर्णय गरेको हो। विपदको सामना गर्नेक्रममा रकम अभाव भएपछि बजेट रकमान्तर गरिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए।

कोरोना रोकथामका लागि आपतकालिन काम गर्न तथा गाउँपालिकाभित्र घर भइ विभिन्न स्थानमा बसिरहेका अनुभवी स्वास्थ्यकर्मीलाई समेत ल्याएर परिचालन गर्ने व्यवस्थाका लागि बजेट रकमान्तरण गरिएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य सेवाबाट अवकाश पाइसकेका, सेवा करार सकिएर बसिरहेका वा सेवामा प्रवेश गर्न बाँकी रहेका स्वास्थ्यकर्मीलाई गाउँपालिकामा बोलाएर स्वयंसेवककारुपमा खटाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए। ‘कोरोना रोकथामका लागि हामी गाउँपालिका घर भएका तर हाल विभिन्न स्थानमा बसिरहेका अनुभवी स्वास्थ्यकर्मीलाई बोलाएर परिचालन गर्नेछौँ,’ अध्यक्ष खड्काले भने, ‘सिमित अवधिसम्म खटाएपछि प्रोत्साहन दिन त्यही कोषको रकम खर्च गर्ने छौँ।’

गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क संकलन गर्न सबै वडा कार्यालयलाई अनुरोध गरेको छ। अध्यक्ष खड्काले घर गएका र कार्यालयमा अनुपस्थित भएका सबै कर्मचारीलाई अनिवार्य रुपमा कार्यालयमै तैनाथ रहन निर्देशन दिए।

कोरोना नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गरिने
साकेला गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवासुविधा वापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’मा जम्मा गर्ने भएका छन्। गाउँ कार्यपालिकाको बैठकले गउँपालिकाका जनप्रतिनिधिले चैत महिनाको सेवासुविधा कोषमा जम्मा गरिदिने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, ५ वडाका वडाध्यक्ष, गाउँ कार्यपालिका सदस्य, वडा सदस्य लगायत २९ जनप्रतिनिधिले महिना दिनको सेवा सुविधावापतको रकम जम्मा गर्ने निर्णय भएको छ।

प्रकाशित: १४ चैत्र २०७६ ०९:४६ शुक्रबार

कोभिड–१९ कोरोना बजेट_रकमान्तर