स्वास्थ्य

चीनले अनुदानमा दिएको मेडिक किट भोली आइपुग्ने

सिन्धुपाल्चोक- चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस (कोभिड–१९) जाँचमा अत्यावश्यक मेडिकल किट शनिबार काठमाडौं आइपुग्ने भएको छ।

उत्तरको मुख्य व्यापारिक नाका तातोपानी हुँदै दुई हजार थान कोरोना टेष्ट किट नेपाल आउन लागेको हो। उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले स्वास्थ्य तथा खाद्य सामग्री आयातका लागि उत्तरका मुख्य तातोपानी र रसुवागढी नाका खोल्ने निर्णय गरेको थियो।

उच्चस्तरीय समितिको निर्णयपछि पहिलो चरणमा अनुदानको मेडिकल किट ल्याउने तयारी थालिएको तातोपानी सुख्खा बन्दारगाह भन्सार प्रमुख लालबहादुर खत्रीले बताए। ‘अनुदानका मेडिकल किट शनिबार बिहान तातोपानी आइपुग्छन्। साँझसम्म काठमाडौं पुर्‍याउँछौँ,’ उनले भने। उनका अनुसार मेडिकल सामग्री शुक्रबारै ल्याउने तयारी भए पनि प्राविधिक कारणले सकिएन। बिहीबारै भन्सार विभागले सुख्खा बन्दरगाह भन्सारलाई चीनबाट आयात हुने सामाग्री जाँचपास गर्न निर्देशन दिएको थियो।

कोरोना भाइरसको कहरबाट तंग्रिने छाँटकाँट देखाएको चीनले नेपाललाई अनुदानमा स्वास्थ्य सामग्री दिने घोषणा गरेको थियो। सोही घोषणा बमोजिम ३० हजार अमेरिकी डलर बराबरको टेष्ट किट तातोपानी नाका भएर नेपाल आउन लागेको हो। टेष्ट किट ल्हासास्थित नेपाली महावाणिज्यदूतको कार्यालयमा आइसकेको जानकारी प्राप्त भएको भन्सार प्रमुख खत्रीले बताए। ‘टेष्ट किट कोरोना संक्रमण भए/नभएको तत्काल पत्ता लगाउने उपकरण हो,’ उनले भने। अनुदानमा आउने टेष्ट किट ३०–३५ केजी हुने उनले जानकारी दिए।

चीनले शनिबार बिहान १० बजेसम्म अनुदानको टेष्ट किट नेपाल–चीन सीमा लिपिङमा झार्ने जानकारी दिएको छ। मेडिकल प्रोटोकल पालना गर्दै सुख्खा बन्दरगाह भन्सार पुर्‍याएपछि बेलुका ६ देखि ७ बजेसम्म टेष्ट किट राजधानी पुर्‍याउने प्रमुख खत्रीले जानकारी दिए। ‘योसँगै चीनबाट औषधि, खाद्यन्न लगायत अत्यावश्यक सामग्रीको आयातसमेत सुरु हुन्छ,’ उनले भने।

उहान उद्गमस्थल हुँदै चीनभर कोरोना महामारी फैलिएपछि गएको माघ १६ गतेदेखि नाका बन्द भएको थियो। सुख्खा बन्दरगाह भन्सारले दोस्रो चरणमा बीच बाटोमा अलपत्र नेपाली व्यवसायीका सामग्री आउन थाल्ने जानकारी दिएको छ। महामारी रोक्न चीन लकडाउन भएपछि तातोपानी नाकातर्फ अघि बढेका झण्डै ३० कन्टेर सामग्री दुई महिनादेखि बाटोमै रोकिइ रहेको प्रमुख खत्रीले बताए। ‘त्यसपछि स्वास्थ्य र खाद्यन्न सामग्री आउन थाल्ने छन्,’ उनले भने। उनका अनुसार सामग्री आयात र जाँचपासका लागि सुख्खा बन्दारगाह भन्सार तयारी अवस्थामा छ।

यसरी आउने छन् सामग्री
किटनासक स्प्रे छर्कँदै मेडिकल प्राटोकल पूरा गरेर चीनबाट मेडिकल र खाद्य सामग्री खासा बजार आइपुग्छन्। खासामा आएका सामग्री लिन नेपाली चालक कन्टेनर लिएर खासा पुग्छन्। खासा पुग्दासम्म तीन स्थलमा चालकको स्वास्थ्य परीक्षण हुन्छ। ‘खासा पुगेको कन्टेनरमा चिनियाँ आफैँले सामग्री राख्छन्। नेपालीले छुनु पर्दैन,’ भन्सार प्रमुख खत्रीले बताए। खासामा नेपाली कन्टेनरमा राखिएका सामग्री किटनासक स्प्रे छर्केर पुनः मेडिक प्रोटोकल पूरा गर्दै सुख्खा बन्दरगाह भन्सार ल्याइ पुर्‍याइने छ।

स्वास्थ्य परीक्षण र मेडिकल प्रोटोकलका लागि नाकामा चिकित्सकसहितको नेपाली स्वास्थ्य टोली तैनाथ रहेको छ। बन्दरगाहमा आएका सामग्री प्रोटोकलअनुसार स्प्रे र टेष्ट गर्दै जाँजचास गरेर राजधानी पुर्‍याइने प्रमुख खत्री बताउँछन्। ‘उच्च सतर्कता अपनाइने भएकाले संक्रमणको डर हुने छैन,’ उनले भने। सामग्री लिन खासा जाने चालकको स्वास्थ्य परीक्षण गर्दै प्रवेश अनुमतिपत्रको प्रक्रिया थालिएको उनले जानकारी दिए।     

२०७२ वैशाख १२ को भूकम्पपछि चार वर्ष बन्द रहेको तातोपानी नाका अध्यागमनबाहेक सामग्री आयात/निर्यात गर्ने सर्तमा गएको जेठ १५ गतेबाट सञ्चालनमा आएको थियो।

प्रकाशित: १४ चैत्र २०७६ ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App