स्वास्थ्य

घरबाहिर निस्कन निषेध गर्न कांग्रेसको आग्रह

खोटाङ– नेपाली कांग्रेस खोटाङले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि घरबाहिर निस्कन आफैलाई निषेध गर्न आग्रह गरेको छ। कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै रोग सरेपछि उपचार गर्नुभन्दा रोग सर्न नदिनु नै सबैभन्दा उत्तम उपाय भएकाले ‘लकडाउन’को अवधिमा घरबाहिर निस्कने कामलाई निषेध गर्न आग्रह गरेका हुन्।

तत्कालका लागि ‘घरबाहिर ननिस्कनु नै कोरोना भाइरसबाट जोगिने उत्तम उपाय’ भएकाले स्वास्थ्यकर्मीको सल्लाह अनुसार संक्रमणबाट जोगिने सबै सावधानी अपनाउनुमा नै मानव हित हुने विज्ञप्तीमा भनिएको छ। ‘विशेषत: विदेशबाट फर्किएका नेपालीबाट संक्रमण फैलने जोखिम बढि भएकाले मुलुकलाई लकडाउन गर्नुपर्ने बाध्यता आइपरेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘एक ठाउँबाट अर्को ठाउँमा जाने आउनेक्रमलाई पूर्ण निषेध गरेर आफ्नै घरमा सुरक्षित रहने, सरसफाईमा ध्यान पुर्‍याउने, सामान्य रुघाखोकी भए पनि छुट्टै कोठामा बस्ने र नजिकको स्वास्थ्य संस्थाको सम्पर्कमा रहने जस्ता सतर्कता अपनाउनु नै उत्तम उपाय हो।’

विज्ञप्तीमा वैदेशिक रोजगारी वा जिल्लाबाहिर बसोबास गरेर घर फर्किएका व्यक्तिको पहिचान गरी समयमै क्वारेन्टाइनमा राखेर जनताको सुरक्षामा ध्यान दिन स्थानीय तहको ध्यानाकर्षण गराइएको छ। विश्वलाई आतंकित पारिरहेको कोरोना भाइरसको संक्रमणबाट आइपरेको विपत्तीलाई एकजुट भएर सामना गर्न कांग्रेसले अनुरोध गरेको छ।

प्रकाशित: १४ चैत्र २०७६ ०८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App