स्वास्थ्य

चीनबाट स्वास्थ्य सामग्री आइतबारसम्म आइपुग्ने

काठमाडौं- नेपालले कोभिड १९ नियन्त्रणका लागि चीनबाट खरिद गरेका औषधि तथा उपकरण आइतबार आइपुग्ने भएका छन्। ती सामग्री नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत ल्याउन लागिएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले खरिद गरिएकामा कोरोनासँग लड्न आवश्यक पर्ने सबै सामग्री रहेकोबताए।

चीनले नेपाललाई कोभिड १९ को जोखिमबाट जोगिन दिने भनेको औषधि तथा उपकरण भने कहिलेसम्म आउने हो, निश्चित भएको छैन। ‘चीनले दिने भनेको सामग्री कहिलेसम्म आउँछ, निश्चित छैन। हामीले खरिद गरेको सामग्री आइतबार नेपाल आइपुग्छ,’ श्रेष्ठले भने।

चीनले नेपालस्थित दूतावासमार्फत नेपाललाई आवश्यक पर्ने औषधि तथा उपकरण उपलब्ध गराउने बताएपछि सरकारले चिनियाँ सहयोग स्वीकार गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै सरकारले कोरोनासँग लड्न नेपाललाई आवश्यक पर्ने दर्जनभन्दा बढी स्वास्थ्य सामग्रीको सूची तयार पारेर स्वास्थ्य मन्त्रालयमार्फत चीन पठाएको थियो।

यसैबीच विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीलाई ध्यान दिँदै सार्क मुलुकका स्वास्थ्य अधिकारीहरुले बुधबार एक भिडियो कन्फरेन्स आयोजना गरेका छन्। नेपालसहित आठ मुलुकका स्वास्थ्य अधिकारी सम्मिलित कन्फरेन्समा १३ अप्रिलबाट सञ्चालन हुने गरी साझा डोमेन निर्माण गर्ने सहमति भएको छ। उक्त डोमेनमार्फत सार्क मुलुकका अनुभव तथा इमरजेन्सी मेडिकल रेस्पोन्सबारे जानकारी गराइने जनाइएको छ।

प्रकाशित: १४ चैत्र २०७६ ०२:०७ शुक्रबार

कोभिड_१९ कोरोना_भाइरस स्वास्थ्य_सामाग्री