स्वास्थ्य

कोरोना नियन्त्रण तथा उपचार कोषलाई सांसदको सहयोग घोषणा

खोटाङ – प्रतिनिधिसभाका सांसद बिशाल भट्टराईले एक महिनाको पारिश्रमिक ‘कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’मा जम्मा गर्ने घोषणा गरेका छन्। खोटाङबाट निर्वाचित प्रतिनिधिसभाका सांसद भट्टराईले कोरोनाको कारण संटकको सामना गरिरहेको सरकारको सहयोगार्थ महिना दिनको सेवा सुविधावापतको पारिश्रमिक कोषमा जम्मा गरिदिने घोषणा गरेका हुन्। 

संकटको समयमा राज्यलाई सकेको सहयोग गर्नु प्रत्येक नागरिकको दायित्व भएकाले कोरोनाको संक्रमण रोकथामका लागि लडिरहेको राज्यलाई सहयोग गर्ने घोषणा गरेको सांसद भट्टराईले बताए।

‘संकटको सामना गर्न मुलुक एकतावद्ध भएर अघि बढ्नुको विकल्प छैन। जसले जे सक्छ त्यही सहयोग गर्नु प्रत्येक नेपालीको कर्तव्य हो,’ भट्टराईले भने, ‘त्रासले होईन साहसले, बेवास्ताले होइन सचेतनाले आफुलाई बचाउँदै अरूलाई पनि बचाउन सरकारको निर्देशक पालना गर्नु आवश्यक छ।’ 

गाउँपालिकाका ८७ कर्मचारीले पनि कोषमा रकम जम्मा गर्ने यस्तै, ऐसेलुखर्क गाउँपालिकामा कार्यरत कर्मचारीले ५ दिन बराबरको तलव ‘कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’मा जम्मा गर्ने निर्णय गरेको छ। कोरोनाको नियन्त्रणमा जुटेको राज्यलाई गाउँपालिकामा कार्यरत ८७ कर्मचारीले ५ दिनको तलव कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। गाउँपालिकामा कार्यरत कर्मचारीको सुरू तलव स्केलका आधारमा ५ दिनको तलव सहयोग रकम स्वरूप जम्मा गरिने जनाइएको छ। 
 

प्रकाशित: १२ चैत्र २०७६ ०९:५८ बुधबार

कोरोना सांसद_बिशाल_भट्टराई उपचार_कोष