स्वास्थ्य

‘लकडाउन’ पछि जुम्ला खलंगा सुनसान

सुनसान जुम्ला खलंगा बजार

जुम्ला – विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको त्रास कम गर्न जुम्ला ‘लकडाउन’ गरेपछि मुख्य बजार खलंगा सुनसान छ। विपद् व्यवस्थापन समितिले सोमबारदेखि लागू हुने गरि निर्णय गरेपछि सर्वसाधारणको घुइचो रोकिएको थिएन्। तर स्थानीय प्रशासनले माइकिङ गरेर सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक बाहिर निस्कन रोक लगाएपछि खलंगा सुनसान बनेको हो।  

प्रशासनले बिहान ६ बजेदेखि नौ बजे तथा साँझ चार देखि सात बजेसम्म अत्यावश्यक सेवा सुविधा उपलब्ध गराउने पसल मात्र खोल्न आग्रह गरेको छ। त्यो बाहेक अन्य समयमा घरभित्रै बस्न आग्रह गरिएको छ। त्यासँगै जुम्ला सदरमुकामको मुख्य बजार क्षेत्रमा  सर्वसाधारणको आवाधी घटेको हो। 

अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी सवारी साधन बन्द रहेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। 
‘ठाउँठाउँमा सुरक्षाकर्मी खटाइएको छ, नागरिकलाई जानकारी गराउन माइकिङ भइरहेको छ, अत्यावश्यक काममा बाहेक अन्यलाई हिंडडुल गर्न रोक लगाएका छौं,’ उनले भनिन, ‘हवाइ सेवा पनि बन्द छ भने बजार पनि बिहान बेलुका आंसिक रुपमा बाहेक अन्य समयमा बन्द छ। उनले सबैले सतकर्ता अपनाउने समय भएकोले सचेत रहन आग्रह गरिन्। ’

यसरी मुख्य बजार सुनसान भएपनि बजार आसपासका र जिल्लाका सहायक बजारमा पनि त्यसको प्रभाव परेको छ । सिजाको गोठिज्युला,नराकोट, नाग्म, राराहिली बजार पनि सुनसान नै छन्। अधिकाशं व्यवसायी घर फर्किसकेका छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति  शून्य नै छ । स्थानीय धमाधम खाद्यन्न जोहो गरिरहेका छन् । 
‘लकडाउन’ का कारण सुर्खेत, नेपालगंज देखि घर फर्कने कर्णालीका यात्रु अलपत्र परेका छन् ।

भारतबाट आउनेहरुसँगै कोराना भित्रिएको हुन सक्ने त्रास भएपनि आउने क्रम घटेको छैन । गाउँमा चहल पहल निकै बढेको छ । जुम्लामा पछिल्लो एक हप्तामा कर्णाली राजमार्ग हुँदै जिल्लामा भित्रनेको संख्या बढेको छ। जिल्ला ट्राफिक कार्यालयका अनुसार यो हप्ता एक हजार एक सय एकचालीस जना भित्रिएका छन् । ठाउँठाउँमा यात्रु अलपत्र परिरहेका छन् । अधिकांस यात्रु हिडेर घर पुग्ने अवस्थामा छन्। जिल्लाको हिमा, जुम्ला बिमानस्थल र नाग्म बजारमा स्वास्थ्य सहायता कक्ष खोलेर चेकजाँच भइरहेकोछ  । 
 

प्रकाशित: १२ चैत्र २०७६ ०७:५६ बुधबार

कोरोना_भाइरस लकडाउन