स्वास्थ्य

कोरोना सचेतना : सर्वसाधारणलाई हात धुन सडकमा सावुनपानी

पाको न्यूरोडमा सार्वसाधारणलाई हात धुन जडान गरिएको सावुन, ह्यान्डवास, स्यानीटाइजरसहितको पानी ट्यांकी। तस्विर सौजन्यः विवेक शर्मा

लहान- कोरोना भाइरस (कोभिड–१९) को महामारिबारे कोहि भ्रमपूर्ण अफवाह फैलाउँदै छन। कोहि महामारी नियन्त्रणका लागि दिलोज्यानले लागिपरेका छन्। कारोना नियन्त्रणका लागि काठमाडौंको पाको न्यूरोडबाट व्यवसायी विवेक शर्माले सुरुवात गरेको हात धुने अभियान अहिले काठमाडौंसँगै बाहिर जिल्लाहरुमा समेत फैलिँदै छ।

कोरोना महामारीबारे भ्रमपूर्ण अफवाह र भ्रमपूर्ण अडियोलाई सामाजिक सञ्जालमार्फत फैलाउने विवेक थापा हुन। उनी थुनामा छन्। संयोगले कोरोना नियन्त्रणका लागि सावुन पानीले हात धुने अभियान चलाउने अभियन्तको नाम पनि विवेक नै हो। विवेकले ‘विवेक’ गुमाउँदा समाजमा आतंक सृजना भयो। अर्को विवेकले ‘विवेक’ पुर्‍याउँदा देशमा रक्षात्मक अभियान सुरुवात भयो। अहिले उनको विवेकलाई अनुकरण गर्दै काठमाडौं बाहिरका जिल्लाहरुमा पनि हातधुने अभियान सुरु भएको छ, हुँदैछ।

आइतबार सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदार यादवले गाउँपालिकाभरी हात धुने सावुन, मास्क र स्यानीटाइजर वितरण गर्दैछन्। एकले अर्काको मुख ताकेर, आलोचना गरेर समय खेर फाल्नु भन्दा राम्रो काम गर्नेको अनुकरण गरेर अघि बढ्नु बुद्धिमानी हुने अध्यक्ष यादवको भनाई छ। यस गाउँपालिकामा घर घरमा चापाकलको व्यवस्था भएकोले सावुन वितरण गरेर हात धुने तरिका सिकाइदिए पुग्छ, उनले भने। तरिका सिकाउन स्वास्थ्यकर्मी सहितको टोलीलाई घर घर परिचालन गरिएको उनले बताए।

शर्माको विवेकलाई अनुकरण गरेर सर्वसाधारणलाई कोरोनाको संक्रमणबाट बचाउन रोटरी क्लव, लाइन्स क्लबलगायतका संस्थाहरु देशव्यापी हातधुने अभियान संचालन गर्दैछन्। सोमबारबाट रोटरी कल्वले लहानको सार्वजनिक स्थानमा हातधुने अभियान सुरु गर्दैछ रोटरियन विकाश सारडाले बताए। लहानको वडा नम्बर ७ को तीन चार स्थानमा हातधुने सावुन, पानीसहितको व्यवस्था गर्दैछौं, उनले बताए।

काठमाडौंको पाको न्युरोडमा विवेक नेतृत्वको टिमले तरल साबुनको बट्टा र स्ट्यान्डसहितको १२ वटा पानी भरिएको टुटी जडान गरेको छ। भीडभाड हुने त्यस क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणका लागि गरिदिएको निःशुल्क बन्दोबसत हो।

न्युरोडमा मोबाइल फोनको कारोबार गर्दै आएका व्यवसायी विवेक शर्मा समाचारमा कोरोना भाइरसको संक्रमणको खबर हेर्दै थिए। सोहि क्रममा उनको ध्यान ‘नियमित हात धोएर कोरोनाको संक्रमणबाट बच्न सकिन्छ’ भन्ने चिकित्सकीय सल्लाहमा केन्द्रित भयो। उनले तत्कालै न्युरोड स्थित आफ्नो मोबाइल पसल क्षेत्रको भिडभाड र अव्यवस्था सम्झे। 

सबैले नियमित हात धुन मात्र सल्लाह दिन्छन् तर काम विशेषले आएका मानिसले हात कहाँ र कसरी धुने ?’ समस्या औल्याउन धेरै भएपनि सामाधानबारे सोच्ने थोरै। उनले सरकारको मुख ताक्नुभन्दा आफैं अघि बढ्ने निधो गरे। वीरगंजबाट पानी ट्यांकी मगाए। पानी प्रशोधन व्यवसायी समेत रहेका उनले १२ वटा ट्यांकी मगाएर फलामे स्ट्यान्डमा ट्यांकी जडान गरे। उनको एक्लो प्रयासमा साथ दिन जोडिए पाकोका अन्य मोबाइल व्यवसायीहरु पनि। श्रीराज महर्जन, महेन्द्र शाही, अमृत मानन्धर लगायतले पानी, ह्यान्डवास, सावुन, स्यानीटाइजर लगायत सहयोग गरे। त्यसरी ट्यांकी मगाएको भोलिपल्टैबाट पाको रोडमा हात धुने स्टलहरु सुरु भयो। हरेक दिन बिहान भरिएको पानी र आवश्यकता अनुसार साबुन फेरिन्छ।

‘संक्रमण भएर उपचारमा जानुभन्दा संक्रमण हुनै नदिने उपाय अपनाउनु उत्तम ठानेर सुरुवात गयौं,’ विवेकले भने,‘अहिले यो अभियान फैलिँदै गएको देख्दा सन्तोष लाग्छ।’ १२ वटा ड्रममा ३ हजार ६० लिटर पानी जम्मा गर्ने जिम्मेवारी श्रीराज महर्जन र महेन्द्र शाहीले लिएका छन् । पानी भर्न दुई जना कामदार छन्। ‘दैनिक ५ हजार लिटर पानीले यस क्षेत्रमा आउने सर्वसाधारणलाई हात धुन पुग्छ,’ उनले भने, ‘साबुन दिनको ३ वटा भए पुग्छ ।’

चोकचोकमा हात धुने अभियानले सबैलाई सार्वसाधारणमा सकारात्मक सोचना प्रवाह भएको विवेक बताउँछन्। हाम्रो सानो प्रयासले मानव जीवन रक्षामा थोरै भएपनि मद्त होस भनेर यो अभियानलाई विभिन्न सेवामुलक संस्थामार्फत फैलाउने प्रयत्न गरिरको उनले बताए।  हातधुने स्थान वरिपरि कोरोनासम्बन्धी जनचेतनामूलक फ्लेक्स बोर्ड टाँसिएको छ।

 

प्रकाशित: ९ चैत्र २०७६ १०:५३ आइतबार

कोरोना कोभिड_१९ सावुनपानी