स्वास्थ्य

डोल्पाको खदाङ्ग र जुफाल विमानस्थलमा हेल्थ डेक्स स्थापना

त्रिपुरासुन्दरी नगरपालिका ५ मा पर्ने खदाङ्गमा स्थापना गरिएको हेल्थ डेक्समा स्वास्थ्य परीक्षणको लागि लाइनमा सर्वसाधारण ।

डोल्पा- महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरु जिल्ला प्रवेश गर्न नपाउन भनेर हिमाली जिल्ला डोल्पाको खदाङ्गमा हेल्थ डेक्स स्थापना गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिकाले जाजरकोट र रुकुम जिल्लाबाट डोल्पा प्रवेश गर्ने मुलद्वारको रुपमा रहेको खदाङ्गमा बाहिरी जिल्लाबाट डोल्पामा भित्रने पैदल यात्रुहरुको स्वास्थ्य परीक्षणको लागि हेल्थ डेक्स स्थापना गरेको हो।

कोभिड-१९ को त्राससंगै काठमाडौ नेपालगन्ज लगायतका शहरमा विभिन्न कामले छरिएर रहेका डोल्पाली र अन्यत्र जिल्लाका मानिसहरुको डोल्पा भित्रने चाप बढेसंगै त्रिपुरासुन्दरी नगरपालिकाले हेल्थ डेक्सको स्थापना गरेको हो। त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढा र प्रमुख प्रशासकिय अधिकृत प्रितिभक्त गिरीसहितको नगरपालिकाको अनुगमन टोलीले स्थलगत अवलोकन गरि हेल्थ डेक्सको स्थापना गरिएको प्रमुख प्रशासकिय अधिकृत गिरीले बताए।

कोरोना भाइरसको संक्रमण जिल्लामा भित्रन नपाओस भन्नका लागि पूर्व सतर्कता अपनाउन हेल्थ डेक्स स्थापना गरिएको बताउदै स्वास्थ्य परीक्षणको क्रममा शंकास्पद भेटिएका मानिसलाई खदाङ्गबाटै जिल्ला प्रवेशमा निषेध गरिने नगरपालिकाले जनाएको छ। त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा पर्ने खदाङ्गमा दुई ओटा सिनिएर अहेव अनमीसहितको स्वास्थ्यकर्मीले बाहिर जिल्लाबाट डोल्पा भित्रने मानिसहरुलाई थर्मोमिटर लगायतका उपकरणले स्वास्थ्य परीक्षण गर्ने गरिएको हेल्थ डेक्समा खटिएका अहेब तुलबहादुर श्रेष्ठले बताए।

अहेब श्रेष्ठका अनुसार शनिबारबाट औपचारिक रुपमा स्थापना गरिएको हेल्थ डेक्सबाट दुई दिनमा ४५० मानिसहरुलाई परीक्षण गरिएको छ। यसैगरि जुफाल विमानस्थलमा पनि बाहिरी जिल्लाबाट आउने र जिल्लाबाट बाहिर जाने हवाई यात्रुहरुको विमानस्थलको टर्मिनल भवनमा पनि हेल्थ डेक्स स्थापना गरेर परीक्षण भइरहेको अनमी विष्णु बुढाले बताइन्। ठुलीभेरीनगरपालिका ८ र ९ मा रुवाखोकी ज्वरो र टाउको दुख्ने रिङ्गटा लाग्ने रोगका विमारी हुन थलोपछि गाउँघरमै अनमीसहितका स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य परीक्षणका साथै उपचार गरिरहेको वडा नम्बर ९ का वडा अध्यक्ष विरमल भण्डारी बताए।

त्रिपुरासुन्दरी नगरपालिकाले कोरोना भाइरसबाट बच्न सफा साबुन पानीले हात धुन ठूलो मानिसको समूहमा नबस्न अनिवार्य मास्क लगाउन, पशु तथा गाईवस्तुसंग घुलमिल नहुन, काँचो माछा मासु नखान र लामो समय रुवाखोकी ज्वरो टाउँको दुख्ने र रिङ्गटा लाग्ने गरेमा तुरुन्त स्वास्थ्य केन्द्र तथा चिकित्सकसंग पुग्न सार्वजनिक सचेतना कार्यक्रमका साथ सूचना जारी गरेको छ।

प्रकाशित: ९ चैत्र २०७६ १०:१८ आइतबार

काेभिड_१९ काेराेना हेल्थ_डेक्स