स्वास्थ्य

बिहान ७ बजेसम्म ३ हजार मानिस भित्रिए

भारतीय पक्षले गौरीफन्टा नाकामा गरेको सीमा बन्द । तस्बिरः पुष्पराज/नागरिक

कैलाली- कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहन भन्दै भारत सरकारले आज दिनभरका लागि सीमा क्षेत्र बन्द गरेको छ। भारत सरकारले ‘जनता कर्फ्यू’ भन्दै आइतबार बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म पूरै भारत बन्द गरेको छ। बन्दकै क्रममा सीमा नाका समेत शिल गरिएका छन्।

सीमा बन्द हुने भएपछि आइतबार राति १२ बजेदेखि सीमाबाट नेपाल फर्कनेहरुको घुइँचो लागेको थियो। आइतबार राति १२ बजेदेखि बिहान ७ बजेसम्म गौरीफन्टा नाकाबाट मात्रै दुई हजार ९ सय ९७ जना भित्रिएको सशस्त्र सीमा सुरक्षा बल कैलालीका एसपी कमल तिम्सिनाले बताए। उनका अनुसार भारतले ‘जनता कर्फ्यू’ घोषणा गरेपछि रातिभर स्वदेश फर्कने नेपालीहरुको भीड लागेको थियो।

रातभर नेपाल फर्कनेहरुको स्वास्थ्य परीक्षण गरिएको बताउँदै गौरीफन्टा नाकामा हेल्थ डेक्सका इन्चार्ज दिनेश ठकुल्लाले भने,‘राति १२ बजेदेखि बिहान ७ बजेसम्म नेपाल फर्कनेको घुइँचो थियो।’ भारतीय समय अनुसार बिहान ७ बजेदेखि सीमा बन्द हुने भएपछि सीमा नजिकैको बजार पलियामा रोकिएका नेपालीहरु रातारात स्वदेश फर्केको उनले बताए।

भारत सरकारको निर्देशन अनुसार सीमानाका शिल गरिएको बताउँदै भारतीय सीमा सुरक्षाका बटालियन कमाण्डर मुन्ना सिंहले भने,‘हाम्रोमा (भारत) आज एक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म जनता कर्फ्यू छ, त्यसैले सीमा बन्द गरेका हौँ।’ जनता कर्फ्यूले सीमा क्षेत्रमा आवतजावत पूर्णरुपमा बन्द भएको उनले बताए।

 

 

प्रकाशित: ९ चैत्र २०७६ ०८:०७ आइतबार

काेभिड_१९ काेराेना सीमा